अर्थ

मन्त्रीसँग घुस माग्दा आयल निगमका सर्वाधिक भ्रष्ट हाकिम निलम्वनमा

मन्त्रीसँग घुस माग्दा आयल निगमका सर्वाधिक भ्रष्ट हाकिम निलम्वनमा

पुस ५ । भ्रष्टाचार र अनियमिततामा बद्नाम नेपाल आयल निगमका एक हाकिमले मन्त्रीकै कम्पनीसँग कमिसन मागेपछि उनको जागिर धरापमा परेको छ ।

नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख दिनेश यादवले भूमिसुधार मन्त्री विक्रम पाण्डेको कम्पनी कालिका कन्ट्रक्सनसँग डिजेलमा प्रतिलिटर दुई रुपैयाँ घुस मागेका कारण उनलाई निलम्वन गरिएको छ ।

मध्यपहाडी लोकमार्गको ठेक्का पाएको कालिका कन्स्ट्रक्सनसित प्रबन्धक यादवले डिजलमा प्रति लिटर दुई रुपैयाँ घुस मागेको निगम स्रोतले जानकारी दियो ।

‘मध्यपहाडी लोकमार्गका लागि सरकारले छ महिनाको नाकाबन्दीका बेला पनि उच्च प्राथमिकतामा राखेर पेट्रोलियम पदार्थ उपलब्ध गराएको थियो’, स्रोतले भन्यो, ‘निगमको विराटनगरस्थित क्षेत्रीय कार्यालयमा दुई महिनाअघि सरुवा भएर आएका यादवले कालिकासित नै घुस मागेका छन् ।’

यसअघि भने कालिकाले निगमका पदाधिकारीलाई प्रति लिटर ५० पैसा घुस दिने गरेको पनि स्रोतले जनायो । निगमका एक उच्च अधिकारीका अनुसार विराटनगर डिपोमा भएको अनियमितता छानबिन गर्न आपूर्ति मन्त्रालयले सहसचिव सूर्यप्रसाद श्रेष्ठको संयोजकत्वमा टोली गठन गरेको छ ।

टोलीमा निगमका विजय सत्यालसमेत छन् । टोली हाल धनगढीमा कार्यरत छ, अर्को हप्ता पूर्वाञ्चल आउनेछ । निगमका महाप्रबन्धक गोपालबहादुर खड्का यादवको निलम्बन फुकुवा गर्ने र आपूर्ति मन्त्री दीपक बोहरा कारबाही गरेरै छाड्ने पक्षमा रहेकोले उनी विराटनगरमा बसिरहेको बुझिएको छ ।

यादव आयल निगमभित्र अनियमितता गर्ने प्रमुख खेलाडीको रुपमा लिइन्छ । यादव झण्डै आठ वर्षअघि अमलेखगञ्ज डिपोमा अनियमितताको आरोपमा निलम्बनमा परेका थिए ।

निगमको नोक्सानी बढी देखाएर तेल बिक्री गरेको आरोपमा उनलाई निलम्बन गरेको थियो । तात्कालिन समयमा छानविन समिति समेत बनाएर निगमलाई साढे चार करोड रुपैयाँ नोक्सानी पुर्याएको ठहर गरिएको थियो । अख्तियार दुरुपयोग अनु्सन्धान आयोगले समेत अनुसन्धान गरेको यो मुद्धा किनारा नलाग्दै यादवलाई आर्कषक डिपोमा सरुवा गरिदै आएको थियो ।

आपूर्ति मन्त्री बोहोराकै दबाबमा उनलाई केही वर्ष भैरहवाको डिपो प्रमुखमा सरुवा गरिएको थियो। निगम स्रोतका अनुसार सुनीलबहादुर थापा बाणिज्य तथा आपूर्तिमन्त्री हुँदा बोहोराको दबाबमा यादवलाई भैरहवा डिपो प्रमुखको रुपमा सरुवा गरिएको थियो ।

विशेष