अपराध सुरक्षा

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिबादी पक्राउ

वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिबादी पक्राउ
पुुस – ५ । वैदेशिक रोजगार ठगी मुद्दामा जरिवाना ठहरपछि फरार प्रतिवादीलाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोले मंगलबार पक्राउ गरेको छ । फरार रहेका धादिङ्ग, बेनिघाट गाबिस–३ बस्ने ३९ वर्षीय चक्रवर्ती लोहनीलाई ब्यूरोले सामाखुशीबाट पक्राउ गरेको हो । लोहनीले वैदेशिक रोजगार न्यायाधिकरणको २०७१ फागुन १२ गतेको फैसलाले ३ बर्ष कैद र ३ लाख रुपैयाँ जरीवाना ठहरेपछि सजाय वेरुजु भई फरार रहेका थिए । उनीसमेतले काठमाडौं गौशाला पिगंलास्थानस्थित इशान रोजगार ईन्टरनेशनल प्रालिका नामबाट ३१ जना सर्वसाधारणबाट ४६ लाख ४८ हजार ३ सय २० रुपैयाँ उठाइ रोजगारीमा नपठाइ ठगी गरेका थिए । २०६१ देखि २०६६ सालसम्म बिभिन्न आकर्षक बैदेशिक रोजगारीका लागि इराक, मलेशिया, कतार, इजरायल, दुबई, बहराइन, युक्रेन आदि मुलुकमा पठाइदिन्छु भन्दै ठगी गरेको ब्यूरोले जनाएको छ । न्यायाधिकरणले बिगो र बिगोको ५० प्रतिशत हर्जाना समेत प्रतिबादीहरुबाट पीडितहरुलाई भराई दिने निर्णय गरेको थियो । प्रतिवादी लोहनीलाई प्रहरीले काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौं पठाइएको छ ।

केन्द्रीय कारागार वैदेशिक रोजगार

विशेष