अपराध सुरक्षा

भारतबाट घातक हतियार ‘इन्सास’ भित्रिएकोबारे प्रहरी अझै मौन

भारतबाट घातक हतियार ‘इन्सास’ भित्रिएकोबारे प्रहरी अझै मौन
पुस ६ । रौतहटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट घातक हतियार ‘इन्सास’ नेपाल भित्रिएको विषयमा सुरुमा प्रहरीले चासो देखाएको भए पनि अहिले अनुसन्धान नै नगरी चुपचाप बसेको छ ।

सो घटनालाई सुरुमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, विशेष ब्युरो तथा मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडा र रौतहट प्रहरीले पनि चासो दिएको थियो । तर, हतियार ल्याउने मानिस नै दोहोरो भिडन्तमा मारिएको भन्दै प्रहरी अहिले अनुसन्धान नै अगाडि नबढाई चुपचाप बसेको हो ।

२९ कात्तिकमा रौतहटको लालबकैया नदीको बाँधनजिकै हतियार कारोबारी सक्रिय रहेको भन्दै मध्यक्षेत्रीय प्रहरीको विशेष टोली र रौतहट प्रहरीले संयुक्त कारबाही गर्दा भारतीय नागरिक तेजिलाल साह सो हतियार ल्याउँदै गरेको अवस्थामा दोहोरो भिडन्तमा मारिएका थिए । त्यतिबेला मध्यक्षेत्रीय प्रहरी कार्यालय दरबन्दी भएका प्रहरी जवान सुरेन्द्र चौधरी घाइते भएका थिए ।

प्रहरीले सो समूहको साथमा रहेको एक थान इन्सास राइफल, एक थान इटालियन पेस्तोल र एक थान नलकटुवा बन्दुक तथा गोली बरामद गरेको थियो । भिडन्तका क्रममा हतियारधारी समूहले १२ राउन्ड र प्रहरीले २८ राउन्ड गोली चलाएको थियो । त्यतिबेला रौतहट प्रहरीले विशेष ब्युरोलाई आपराधिक समूह भएको रिपोर्ट दिएपछि ब्युरोले चासो दिएन ।

‘हाम्रो काम उसको संलग्नता भूमिगत समूह वा अन्य राजनीतिक समूहसँग छ कि भन्ने थियो, त्यस्तो रिपोर्ट नआएपछि त्यो घटनामा चासो दिइएन,’ ब्युरो स्रोतले भन्यो ।

‘मध्यक्षेत्र र जिल्लाले संयुक्त रूपमा अप्रेसन गरेका भएकाले त्यसमा केही शंकास्पद विषय छ कि भनेर विशेष ब्युरोलाई जानकारी गराइएको हुन्छ । कुनै विषयहरू बाहिर ल्याउन नमिल्ने भएर पनि गोप्य राखिएको हुनपर्छ,’ नेपाल प्रहरीका सहप्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० ठाकुर ज्ञवालीले भने, ‘सबै विषय मैले पनि बुझ्नुपर्ने हुन्छ ।’

सुरक्षा स्रोतका अनुसार इन्सास राइफल घातक हतियार हो । यो हतियार नेपाली सेना र नेपाल प्रहरीको विशेष कार्यदलले मात्रै प्रयोग गर्छ । तर, आपराधिक समूहले नेपालतर्फ त्यो हतियार कसरी ल्यायो भन्ने विषयमा एक महिनाभन्दा बढी समय हुँदा पनि कुनै पनि धारणा सार्वजनिक गरेको छैन । यतिबेला तराईमा भूमिगत समूहको चलखेल पनि नभएको र पहाडमा रहेका केही त्यस्ता समूह पनि प्रहरीको फन्दामा परेको अवस्थामा त्यो हतियार कसरी आयो, किन आयो भन्नेबारेमा प्रहरी मौन बसेको छ ।

जसले हतियार ल्यायो त्यो व्यक्ति नै दोहोरो भिडन्तमा परे पनि सो समूहका अन्य तीनजना भने भागेका थिए । त्यतिखेर मध्यक्षेत्रीय प्रहरी कार्यालयका प्रमुख डीआईजी पशुपति उपाध्याय र जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता नवीनकृष्ण भण्डारीले सो हतियार लिएर नेपालमा महत्वपूर्ण व्यक्तिको अपहरण वा हत्या गर्न आएको हुन सक्ने आशंका व्यक्त गरेका थिए । दुवै कार्यालयले सोबारे अनुसन्धान भए÷नभएको विषयमा कुनै जानकारी दिएका छैनन् ।

प्रहरीका अनुसार दोहोरो भिडन्तमा मारिएका व्यक्ति तेजिलाल साह भारतीय अपराधी हुन् । तर, उनीसँग आएका र त्यसबेला भागेका विषयमा प्रहरीले केही बताएको छैन ।

राजधानी

Hatiyar Insas

विशेष