ओटोमोबाइल

मापसे गरेर मोटरसाइकल चलाए स्टार्ट नै नहुने

मापसे गरेर मोटरसाइकल चलाए स्टार्ट नै नहुने

मादक पदार्थ सेवन  गरेर मोटरसइकल चलाउँदा स्टार्ट नै नहुने प्रविधिको पोखरामा सफल परीक्षण गरिएको छ । युवा आविष्कारक विकल्प ढुंगानाले मोटरसाइकल र स्कुटरका लागि नयाँ प्रविधिको आविष्कार गरेका हुन् ।

उनले हेलमेट नलगाएको र मापसे गरेको खण्डमा दुई पांग्रे सवारीसाधन आफैँ रोकिने वा स्टार्ट नै नहुने प्रविधिको आविष्कार गरेका ढुंगनाले दाबी गरे । उनले गरेको सफल परीक्षणलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले समेत प्रमाणित गरिदिएको छट । एक हप्तासम्म विभिन्न चरणमा गरिएको परीक्षणले उनले भने जस्तै नतिजा दिएको ट्राफिक प्रहरी कार्यालयका असई राजेश थापाले बताए ।

उनको प्रविधिको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख विश्वराज अधिकारीले औपचारिक रूपमै परीक्षण सफल भएको जनाएका हुन ।

ढुंगानाले आफ्नो साभाष नामक यो प्रविधिमा हेलमेटमा दुईथरी डिटेक्टरहरुको प्रयोग गरिएको बताए । उनको यो प्र्रविधिले सडक दुर्घटना न्युनीकरणमा उल्लेख्य भूमिका खेल्ने दाबी गरे ।

आफूले निर्माण गरेको प्रविधि मोटरसाइकल र स्कुटरमा जडान गर्दा करिब ७ हजार खर्च लाग्ने उनले बताए । “यो प्रविधिलाई धेरै सङ्ख्यामा हेलमेटसहित जडान गर्दा करिब ५ हजारमा खर्च लाग्छ ’, उनले भने ।

हेलमेटमा यो प्रविधि जडान भइसकेपछि हेलमेटबिना वा मापसे गरेको खण्डमा मोटरसाइकल र स्कुटरमा इन्डीकेटरले सङ्केत गरेर स्टार्ट नै नहुने प्रविधि आफूले जडान गर्ने उनले बताए ।

पोखरा मल्टीमोडेल कलेजका प्राचार्य कृष्ण केसीले विकल्प जस्ता प्रतिभाहरुलाई पलायन हुनबाट रोक्न सरकारीस्तरबाटै पहल हुनुपर्ने बताए ।

उता उक्त कलेजकै विज्ञान संकायका प्रमुख डा। चन्द्रबहादुर थापाले उनको प्रविधिलाई जनस्तरमा लैजान विस्तृत अध्ययन गर्नुपर्ने खाँचो औँल्याए । त्यस्तै राष्ट्रिय युवा परिषद् कास्कीका अध्यक्ष आशीर्वाद सुवेदीले ढुंगानालाई परिषदले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

गुरुचेला एजुकेशन नेटवर्कका कार्यकारी निर्देशक सुवास मल्लले पनि यस्ता प्रतिभाहरुलाई प्रवद्र्धन गर्न आफ्नो संस्था निरन्तर लाग्ने वचन दिए ।

तनहुँको मनपाङ घर भई विगत केही वर्षदेखि पोखरामा बस्दै आएका विकल्पले गत वर्षको युवा प्रतिभा पुरस्कार समेत प्राप्त गर्न सफल भएका छन् ।

उनले गृहजिल्ला तनहुँ र काठमाडौँ, पोखरा जस्ता ठाउँहरूमा समेत आफ्ना आविष्कारहरुको प्रदर्शनी गरिसकेका छन् । यसअघि नै उनले हेलिकोप्टर, बम डिस्पोजेबल रोबर्ट, भूकम्प सूचक यन्त्र, म्यानुयल लोडिङ्ग एण्ड लिफ्टिङ्ग रोबर्ट, घाँस काट्ने मेसिन, धान ठटाउने रोबर्ट र फुटबल खेल्ने रोबर्ट लगायत डेढ दर्जन यन्त्रहरुको आविष्कार गरिसकेका छन् ।

विशेष