अर्थ

आफैंले बनाएको कार्यविधि नाघेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि

आफैंले बनाएको कार्यविधि नाघेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि

पुस ७ । नेपाल आयल निगमले आफैंले बनाएको कार्यविधि विपरीत इन्धनको मूल्य बढाएको छ । निगमले तयार पारेको ‘स्वचालित मूल्य प्रणालीसम्बन्धी कार्यविधि २०७१’ अनुसार प्रतिलिटर २ प्रतिशतभन्दा मूल्य घटबढ गर्न पाइँदैन ।

जसअनुसार प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ ९४ पैसा र डिजेल र मट्टितेल प्रतिलिटर १ रुपैयाँ ४६ पैसाभन्दा बढाउन पाइँदैन । तर, दुवैमा निगमले कार्यविधि विपरीत प्रतिलिटर साढे ४ रुपैयाँ बढाएको छ ।

‘कार्यविधिअनुसार प्रतिलिटर २ प्रतिशत मात्रै घटाउन÷बढाउन पाइन्छ । हाल प्रतिलिटर साढे ४ रुपैयाँ बढाइएको छ,’ निगम सञ्चालक समितिका एक सदस्यले भने, ‘कार्यविधिअनुसार समायोजन मिलेन ।’

उनका अनुसार निगमले पेट्रोलमा १२ प्रतिशत र डिजेलमा १ प्रतिशतसम्म नाफा राख्न मिल्छ । तर, मूल्य समायोजनमा भने २ प्रतिशतभन्दा घटबढ गर्न मिल्दैन ।

व्यवस्थापिका संसदले पनि प्रतिलिटर २ प्रतिशतभन्दा बढी घटबढ गर्न नहुने जनाएको छ । ‘निगम आफैंले बनाएको कार्यविधिमा प्रतिलिटर २ प्रतिशतभन्दा बढी घटबढ गर्न नमिल्ने उल्लेख छ । तर, प्रतिलिटर साढे ४ रुपैयाँ बढाएको छ,’ उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिका सचिव सुदर्शन खडकाले भने, ‘यो जायज होइन । मूल्यवृद्धि कार्यविधि विपरीत भयो । यसबारे निगमसँग बिहीबार छलफल गर्नेछौं ।’

निगमले गत आइतबार राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको थियो । नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ ५० पैसा, डिजेल ७७ रुपैयाँ ५० पैसा र मटितेल ७७ रुपैया ५० पैसा पर्छ ।

यसअघि प्रतिलिटर पेट्रोलको मूल्य ९७ रुपैयाँ, डिजेल ७३ रुपैयाँ र मटितेल ७३ रुपैयाँ थियो । भारतीय आयल निगम ९आईओसी० ले पठाएको नयाँ मूल्यसूचीअनुसार मूल्य बढेकाले सोहीअनुसार यहाँ मूल्य बढाएको दाबी गरेको थियो ।

तर, निगमले मूल्य घटेको बेला प्रतिलिटर साढे २ रुपैयाँबाहेक घटाउने गरेको छैन । जानकारहरूका अनुसार इन्धनको मूल्य वृद्धिसँगै सबै क्षेत्रमा भाउ बढ्छ । हाल निगम नाफामा रहेकाले सर्वसाधारणलाई मार पर्ने काम उपभोक्ता अधिकारकर्मी बताउँछन् । कान्तिपुर

Nepal oil Nigam

विशेष