अपराध सुरक्षा स्वास्थ्य

पाटन प्रतिष्ठानको एमविविएस परीक्षा विवादः दुवै नतिजासूची बदर गर्न निर्देशन

पाटन प्रतिष्ठानको एमविविएस परीक्षा विवादः दुवै नतिजासूची बदर गर्न निर्देशन
पुस - ९ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस अध्ययनको लागि गत कार्तिकमा लिएको प्रवेश परीक्षाको पहिलो र दोस्रो दुवै नतिजासूचीलाई स्वास्थ्य मन्त्रालयले बदर गर्न निर्देशन दिएको छ । प्रतिष्ठानले गत मंसिर १५ र १७ गते प्रकाशित गरेको नतिजासूची विवादित भएपछि स्वास्थ्य मन्त्रालयले चिकित्सा सेवा महाशाखाका प्रमूख डा. भोलाराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरि छानविन गरेको थियो । नतिजासूची प्रकाशित गर्दा कोडिङ तथा डिकोडिङका क्रममा गम्भीर त्रुटी तथा लापर्वाही गरेको ठहर सहितको प्रतिवेदन छानविन समितिले बुझाएपश्चात मन्त्रालयले दुवै नतिजासूची बदर गर्न निर्देशन दिएको हो । त्रुटिपूर्ण नतिजाका लागि जिम्मेबार पदाधिकारी तथा कर्मचारीलाई आवश्यक कारबाही गर्न प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष सहकुलपति एवं स्वास्थ्यमन्त्री गगन कुमार थापाले सिफारिस गरेका छन्। मन्त्रालयले यस पटकको लागि प्रथम चरणको परिक्षामा सम्मिलीत सवै अर्थात् १७६९ जना परिक्षार्थीलाई वाकी परिक्षामा सहभागी गराई मेरिट प्रणालीका आधारमा विद्यार्थी छनौट गर्न समेत निर्देशन दिएको छ । परिक्षाको निश्पक्षता, स्वतन्त्रता एवं बस्तुनिष्ठता कायम राख्न पूर्वशिक्षा सचिव दिपेन्द्रविक्रम थापाको संयोजकत्वमा कानुनविद् विजय मिश्र र परिक्षाविद् सिताराम बुढाथोकी रहेको तीन सदस्यीय परिक्षा अनुगमन तथा समवन्य समिति गठन गरेको छ । समितिलाई परिक्षाको बाकी प्रक्रियाको अनुगमन र समन्वय गर्न तथा समग्र परिक्षा प्रणालीको अध्ययन अनुसन्धान गरी प्रतिवेदन दिने जिम्मेबारी तोकिएको चिकित्सा सेवा महाशाखा प्रमुख डा श्रेष्ठले जानकारी दिए। एमविविएस प्रवेश परिक्षाको गहनता, समयको सिमितता, शैक्षिक सत्रमा पर्न सक्ने प्रभाव र सयौं विद्यार्थीको भविष्यलाई मध्यनजर गर्दैै मन्त्रालयले निकास दिइएको स्वास्थ्य मन्त्री गगनकुमार थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिए । प्रतिष्ठानले हरेक शैक्षिक सत्रमा ६० जनालाई एमबीबीएस पढाउदै अँएको छ ।

गगन कुमार थापा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान

विशेष