सरकारले दिएको सुरक्षाले त को बाँच्दो रहेछ र ? बाँच्ने त भाग्यले रहेछन्
पुस १० । २०६७ साल फागुन २६ गते केन्द्रीय कारागारभित्रै मनमित सिंह भाटिया नाम गरेका एक भारतीय आक्रमणकारीले बन्दी जीवन बिताइरहेका युनुस अन्सारीलाई गोली प्रहार गरे । त्यो गोली प्रहारमा भारतीय दूतावासको संलग्नता रहेको अन्सारीले बताएका थिए । घटना जमिम शाहको काठमाडौमा भएको हत्याको एक वर्ष नबित्दै भएको थियो । जेलभित्रै गोली काण्डका बेला नेपालमा प्रधानमन्त्री झलनाथ खनाल थिए । गृहमन्त्रालयको जिम्मेवारी पनि खनालले नै सम्हालिरहेका थिए ।
यो घटना खनालले सुनसरीका देवीप्रसाद रेग्मीको हातबाट झापड खाएको करिब एक महिनापछि भएको थियो । त्यो बेला मानिसहरुले तत्कालीन मधेसी जनअधिकार फोरम नेपालकी नेतृ तथा कृषि राज्यमन्त्री करिमा बेगमले पर्साका सिडियो दुर्गाप्रसाद भण्डारीलाई झापड लगाएको प्रशंग सम्झिरहेका थिए । झापड लगाउनुको कारण थियो– सिडियो भण्डारीले बेगमका लागि पुरानो गाडी विमानस्थल पठाएको भन्ने ।
ती करिमालाई पछि प्रहरीले भारतीयलाई नागरिकता दिलाउन सिफारिस गरेको अभियोगमा पक्राउ गर्यो । मान्छे कुट्ने श्रृङखलाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइराला, माओवादी नेता झक्कु सुवेदीसम्मलाई भेट्यो । कांग्रेसका सांसद रञ्जित कर्णलाई कालोमोसो दलेर जुत्ताको माला लगाइयो, अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वोच्च परिसरमै कालोमोसो दलियो ।
ज–जसले यस्ता हर्कत गरे ती सबैले माफी पाए । केहीलाई मुलुकमा व्याप्त दण्डहिनताको अवस्थाले फाइदा पुर्यायो । झापड खाने र माफी दिने शुरुवात झलनाथ खनालले नै गरे । उनले गालामा डाम बस्ने गरी झापड खाए, तर सुनसरीका देवीप्रसाद रेग्मीलाई माफी दिए । पछिल्लो श्रृङ्खलामा लोकमान सिंह कार्कीले ‘अरु कसैको उक्साहटमा मोसो दल्न आउने प्रकाश शाही र चन्द्रबहादुर बुढा निमित्तका पात्र मात्रै हुन्, त्यस्ता निरिहलाई कारबाहीको अर्थ छैन’ भन्दै माफी दिए ।
७० चैतमा चितवन कारागारमा मारिएका तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिवप्रसाद पौडेल, हालै मारिएका युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीले कसैलाई माफी दिने अवसर पाएनन् । राजनीतिमा पसेको गुण्डागर्दीको सिकार भए यिनीहरु । राजनीतिको आवरणमा गुण्डागर्दी नै गर्ने यिनीहरु आफूले खनेको खाल्डोमा आफै परेका थिए ।
राजनीतिले गुण्डागर्दीलाई सुरक्षा दिँदा युवाहरु गलत बाटोमा गइरहेका छन् । जसका कारण राजनीतिक दलहरुले पनि आफ्ना युवाहरु गुमाइरहेका छन् । तर पनि राजनीतिक दलहरुले बेला बेलामा द्वेध चरित्र देखाउँछन् । दिनेश अधिकारी ‘चरी’, कुमार घैंटे प्रहरी इनकाउन्टरमा मारिए । उनीहरु मारिँदा कडा विरोध गर्नेहरुमा थिए– कांग्रेसका गगन थापा र एमालेका राजेन्द्र पाण्डे ।
डनहरुले सयौं अपराध गर्दा रोक्न नसक्ने, भरसक सघाउने प्रवृत्ति प्रहरीमा पनि छ । जब दबाब बढी आउँछ, तब सोझै इनकाउन्टर गर्नु मानवअधिकारको उल्लंघन हो । प्रहरीको इनकाउन्टर बाहेकका हत्या, नेता कुटिने, जेलभित्रै गोली प्रहार हुने घटनाले सुरक्षा व्यवस्था कमजोर रहेको स्पष्ट पार्छ ।
जेलभित्रैको गोली काण्डपछि संसदमा बोल्दै एक सांसदले भनेका थिए, ‘ सुरक्षा व्यवस्था कडा भएर हामी बाँचेका होइन रहेछौं । कसैले मार्न नचाहेर पो बाँचेका रहेछौं ।’
Manprit Singh Unus Ansari