उखु खेतीबाट कृषकको अवस्था सुध्रिदैँ
पुस १० । मोरङको कदमाहाका गणेश रायको परिचय फेरिएको एक वर्ष भयो । कदमाहाकै अभय ऋषिदेवको पनि दैनिकि बदलिएको एक वर्ष पुग्यो । अहिले ऋषिदेव र रायको दैनिकी बदलिनुका साथै पेसा पनि बदलिएको छ ।
उनीहरु एक वर्षअघि सम्म आफ्नो परिचय कृषक भनेर दिन्थे भने अहिले व्यवसायी । कदमाहाका राय मात्रै होइन केही वर्षयता मोरङका धेरै व्यक्ति कृषकबाट व्यापारी र मजदुर भएका छन् । कोही वैदेशिक रोजगारीका लागि कतार, साउदी अरब, ओमान, दुवइ, मलेसिया, बराइन, गएका छन् । कदमाहाका गणेश रायले चार बिघा जग्गा ठेक्का लिएर विगत १० वर्षदेखि उखु लगाउँदै आएका थिए ।
उनले लागतअनुसार उखुको मूल्य नपाएपछि उखु खेती छाड्दै गएको बताए । एक वर्ष मिहेनत गरेर उत्पादन गरेको उखुको मूल्य आफ्नो हातमा नहुने उनको भनाइ छ । उनी मात्र होइन अर्का उखु कृषक अभय भन्छन्, “उखु खेती गर्नुभन्दा व्यापार–व्यवसाय गर्नै फाइदा छ ।”
मोरङ बबियाविर्ताका बलबहादुर चौधरीले पनि उखु खेतीको क्षेत्रफल घटाउँदै लगेका छन् । ६ बिघाबाट घटाएर दुई बिघामा झारेका छन् ।
उखु खेतीबाट जीविका नचल्ने देखेपछि चौधरीले छोरा विजयलाई नौ महिनाअघि वैदेशिक रोजगारीमा पठाए । उनी भन्छन् , “लगानी नउठ्ने भएपछि खेती गरेर फाइदा छैन ।”
उनी भन्छन् , “उखु समयमा बिक्री नहुँदा तौल घटेर घाटा हुन्छ । यो जिल्लाका बहुसंख्यक कृषक उखुखेतीबाट विस्थापित हुन थालेका छन् । सुनसरीको अमाहीबेल्हास्थित इस्टर्न सुगर मिलले समयमै भुक्तानी नदिँदा कृषक थप निराश बनेका हुन् ।
इस्टन सुगर मिलका आर्थिक प्रशासन शाखाका प्रमुख राजुमोहन गुप्ताका अनुसार मिलले गत वर्षकै करिब १९ करोड रुपैयाँ कृषकलाई भुक्तानी गर्न बाँकी रहेको स्वीकार गरेको छ ।
उखु किसानलाई बैंकको ब्याज, मजदुर, मलखाद, ढुवानी, इन्धनलगायत खर्च जोड्दा कृषकलाई उल्टै घाटा देखिएको छ । कृषक राजन श्रेष्ठ भन्छन् , “डुब्नका लागि खेती गर्न सक्ने अवस्था रहेन ।”
देवानगन्जका सुरेन्द्र यादव भन्छन् , “प्रतिबिघा ८० देखि ९० हजार रुपैयाँसम्म लगानी हुन्छ ।” मिलले गत वर्ष प्रतिक्विन्टल चार सय ६१ रुपैयाँका दरले किसानबाट उखु किनेको थियो । सुनसरी, मोरङ, झपामा गरेर ६ हजारभन्दा बढी कृषक उखु खेतीमा आबद्ध रहेको पूर्वक्षेत्रीय कृषि निर्देशनालयको तथ्याङमा उल्लेख छ ।
ukhu kheti