आयल निगममा जागिर लगाइदिन्छु भन्दै घुस संकलन गर्न थाले प्रबन्ध निर्देशकले
पुस ११ । नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले नाकाबन्दीको बेला तेलमा कालोबजारी गरेर करोडौं रुपैयाँ घुस असुली गरे पनि उनीमाथि कुनै कारबाही हुन सकेन ।
अखितयार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई खुसी पारेका कारण उनको पदमा कुने संकट नपरेको चर्चा व्याप्त रह्यो । उनले पेट्रोल पम्प र ट्यांकरको स्वीकृतिमा पनि घुस लिएको समाचार आइरहेका छन् । पछिल्लो पटक उनले आयल निगमले मागेको कर्मचारी भर्नामा पनि घुस संकलन गर्न दूत परिचालन गरेको समाचार छ ।
निगमले २०७३ असारमा मागेको मेकानिकल र सिभिलतर्फको उपप्रबन्धकदेखि सहायक मिस्त्रीसम्मका पदमा ६२ पदका लागि निगमका कार्यकारी निर्देशक खड्काको दूतका रुपमा घुस संकलन गर्ने जिम्मेवारी सन्तोष नाम गरेकालाई खटाएको कर्मचारी स्रोत बताउँछ । खड्काले सिरहादेखि पोखरासम्म पास गराइदिन्छु भनेर घुस संकलन गरेको आरोप छ । गोपालबहादुर खड्कालाई भनेर पास गराइदिन्छु भनेर सन्तोषले पोखरामा पनि पैसा उठाएको आरोप छ । –साँघु साप्ताहिकबाट