अपराध सुरक्षा

प्रहरीको उच्च खोजीको सूचीमा परी फरार 'सिरियल किलर' समातिए

प्रहरीको उच्च खोजीको सूचीमा परी फरार 'सिरियल किलर' समातिए
पुस - ११ । सात बढी हत्या तथा दर्जनौँ साङ्गठनिक अपराधमा संलग्न नेपाल प्रहरीको उच्च खोजीको सूचीमा परी फरार रहेकामा शनिबार पक्राउ गरिएका बथनाहा गाविस–४ का दीपेन्द्र ठाकुरलाई आज महोत्तरी प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी महोत्तरी, धनुषा, सिराहा र सर्लाही जिल्लामा सात जनाभन्दा बढीको हत्या गरी फरार रहेको आरोपमा पक्राउ परेका बुढा भन्ने दीपेन्द्र ठाकुरलाई आज सार्वजनिक गरेको छ । प्रहरीको उच्च खोजीको सूचीमा रहेका दीपेन्द्र ठाकुर भारतको विभिन्न ठाउँमा लुकेर बस्दै आएकामा शनिबार बिहान जिल्लाको सिस्वाकटैया गाविस–१ बाट विशेष प्रहरी टोलीले उनलाई पक्राउ गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । प्रहरीले उनको साथबाट एक थान नलकटुवा पेस्तोल, दुई राउन्ड गोली, एक थान मोबाइल, एक थान भारतीय मोवाइलको सिम र १४.२० ग्राम खैरो हिरोइन बरामद गरेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताउए । पक्राउ परेका ठाकुरले जिल्ला प्राविधिक कार्यालय महोत्तरीका सवओभरसियर पूर्णसिंह प्रधानलाई गोली हानी हत्या गरेको अभियोग छ । त्यसैगरी जानकी मेडिकल कलेजका तत्कालीन सञ्चालक अशोक सिन्हाको धनुषा जिल्लाको जनकपुर–४ स्थित घरमा गोली प्रहार गरी उनका म्यानेजरलाई गम्भीर घाइते बनाएको अर्को अभियोग पनि छ । त्यसैगरी अन्य सातजना बढीको हत्या आरोप लागेका उनी फरार रहँदै आएका थिए । त्यस्तै ठाकुरले महोत्तरी, धनुषा, सिरहा र सर्लाहीलगायत भारतको पनि धेरैजसो ठाउँमा अपहरण, चन्दा असुली र धाकधम्कीका दर्जन बढी घटना घटाइसकेको प्रहरीले जनाएको छ । ठाकुरमाथि महोत्तरीमा चार, धनुषामा पाँच, सिराहा र सर्लाहीमा गरी सङ्गठित अपराध, हातहतियार, चन्दा आतङ्क, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सार्वजनिक अपराधलगायत दर्जनभन्दा बढी मुद्दा रहेका छन् । उनी तराईमा सशस्त्र विद्रोह गर्दै आएका जनतान्त्रिक तराई मुक्ति मोर्चा -राजन मुक्ति समूहमा सक्रिय कार्यकर्ताको भूमिका निर्वाह गर्दै आएका थिए ।

नेपाल प्रहरी महोत्तरी प्रहरी सिरियल किलर

विशेष