करोडभन्दा बढी ठगी गर्ने व्यक्ति आफैं प्रहरी शरणमा पुगेपछि...
पुस - १४ । रु चार करोडभन्दा बढी ठगी गर्ने लमजुङका एक व्यक्ति आफैं प्रहरी शरणमा पुगेका छन् । लमजुङ, गौंडा घर भइ पछिल्लो समय काठमाडौं बस्दै आएका बिर्दसिङ गुरुङ प्रहरीको शरणमा पुगेका हुन् ।
केही वर्ष मलेसिया बसेका गुरुङले तीन वर्षअघि गृहजिल्ला लमजुङ आएर लमजुङ मिडिया नेटवर्क कम्पनी प्रालि सन्चालन गरेका थिए ।गुरुङले सो नेटवर्कको नाममा विभिन्न व्यक्तिलाई ठगी गरेको खुलासा भएको छ । गुरुङबाट ठगिएका पीडितले बुधबार सदरमुकाम बेसीसहरमा पत्रकार भेटघाट गरी आफूहरु ठगिएकोबारे जानकारी गराएपछि विभिन्न व्यक्तिबाट गुरुङले रु चार करोडभन्दा बढी रकम ठगी गरेको तथ्य खुलेको थियो ।
पत्रकार भेटघाटका क्रममा दाङका डिलाराम बुढाथोकीले आफूबाट मिडिया नेटवर्कका लागि भन्दै रु ७३ लाख लिएको बताए । पटक–पटक रकम फिर्ता माग्दा झुक्याउने र भाग्ने गरेको पीडित बुढाथोकीले गुनासो गरे । रकम तिर्नेक्रममा बाउन्स (खातामा पैसा नभएको) चेक दिएर झुक्याएको उनको भनाइ थियो ।
यसैगरी, तनहुँका कृष्णराज खतिवडाले पनि आफूबाट घडेरी र नगद रु १८ लाखभन्दा बढी रकम ठगी गरेको बताए । बैंकबाट ऋण लिने भन्दै पोखरामा रहेको चार आना घडेरी उसको नाममा गराइदिएको खतिवडाले बताए ।
गुरुङले काठमाडौंको बंैकबाट रु दुई करोड ऋण लिनको लागि धितो राख्न जग्गा पुगेन भन्दै खतिवडाको जग्गा आफ्नो नाममा पास गराएका थिए । रु ३५ लाख मूल्यमा चार आना जग्गा पास गरिदिएको खतिवडाले बताए ।
‘रु दुई करोड ऋण लिएपछि तपाइँको सबै रकम तिरिदिन्छु भन्यो, रु १८ लाख पाउने आशामा जग्गा पास गरिदिएँ, न रु १८ लाख पाएँ, न जग्गा नै मेरो रह्यो’–खतिवडाले भने–‘दुई पटकसम्म बाउन्स चेक दिएर झुक्यायो, रु १८ लाखसँगै थप रु ३५ लाख खायो ।’
यसैगरी, गुरुङले बेसीसहरका राम श्रेष्ठबाट रु १३ लाख ५० हजार ठगी गरेका छन् । गुरुङले प्रयोग गर्दै आएको गाडी किन्न भन्दै रु २५ लाख बुझाएको र पछि नामसारी गर्नेक्रममा फरार भएको श्रेष्ठले बताए ।
‘पसलमा आएर नगद तिरेर सबैभन्दा महँगा मोबाइल किन्ने गथ्र्यो, आउँदै करोडको कारोबार गर्ने गफ गथ्र्यो, मैले उसको गाडी किन्ने कुरा गरें, विश्वास गरेर दुई किस्तामा रु २५ लाख दिएँ’–श्रेष्ठले भने–‘पछि थाहा भयो मैले किनेको गाडी सहकारीको नाममा रै’छ ।’
गुरुङले केही दिनका लागि भन्दै काठमाडौंका सनम तामाङबाट रु ३५ लाख, पोखराका कुलबहादुर गुरुङबाट रु २० लाख, बेसीसहरका डिलबहादुर गुरुङबाट रु २० लाख, शुकराम तामाङबाट रु २० लाख, बेसीसहरका पूर्णचन्द्र पोख्रेलबाट रु १५ लाख, सुन्दरबजारका मोहन गुरुङबाट रु १५ लाख, बेसीसहरस्थित भूपू सहकारीबाट रु १० लाख, मगर गुरुङबाट रु सात लाख, तथा काठमाडौंका गम्भीर नगरकोटीबाट रु १३ लाख, वीरेन्द्र पौडेलबाट रु १० लाख, र विष्णु धितालबाट रु १० लाख ठगेको पनि खुलेको छ ।
यस्तै, लमजुङ–गौंडाकी बलकुमारी गुरुङबाट रु तीन लाख ५० हजार, सुन्दरबजारकी नौमाया गुरुङबाट रु दुई लाख, बेसीसहरका गणेश फेन्सीबाट रु एक लाख ५० हजार, प्रवीण गुरुङबाट रु एक लाख ५० हजार रकम लिएका गुरुङले सो नेटवर्कका अन्य सेयर सदस्यले थाहा नपाउने गरी कम्पनी बिक्री गरी सबै रकम लिएर फरार भएका थिए ।
पीडितले गुरुङलाई खोज्नेक्रममा झापाको विर्तामोडमा भेट्टाएर जिल्ला ल्याएपछि असुरक्षा महसुस गर्दै पीडक आफैं प्रहरी हिरासतमा पुगेका थिए । ठगी गरेको भन्दै मिडिया प्रालिका सदस्यले गुरुङविरुद्ध प्रहरीमा उजुरी गरेपछि प्रहरीले ठगीको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतले रु सात लाख धरौटीमा रिहा गर्न आदेश दिएपनि गुरुङ भने बाहिर असुरक्षाको महसुस गर्दै कारागारभित्रै बसेका छन् । गुरुङ कारागारमा परेको हल्ला चलेपछि उनीबाट ठगिएका सार्वजनिक हुनेक्रम दैनिक थपिँदै जानुका साथै उसको नागरिकताको प्रतिलिपि, विभिन्न ठाउँमा भएका जग्गाको नक्कली लालपुर्जा, लाइसेन्सलगायतका कागज बनाएको पनि भेटिएको छ । गुरुङले आफ्नो राहदानीमा रातोखोल राखेर रातो पासपोर्ट भनि झुक्याउने गरेकोसमेत भेटिएको छ । रासस
ठगी
लमजुङ