अपराध सुरक्षा प्रवास

भिजिट भिसामा चाइना पठाइ अलपत्र पर्ने अवैध कन्सल्टेन्सी संचालक पक्राउ

भिजिट भिसामा चाइना पठाइ अलपत्र पर्ने अवैध कन्सल्टेन्सी संचालक पक्राउ
१४ – पुस । भिजिट भिसामा रोजगारीको लागि भन्दै चाईना पठाई अलपत्र पार्ने अवैध कन्सल्टेन्सी संचालक पक्राउ परेका छन् । भिजिट भिसामा विदेश पठाइ लाखौं ठगी गर्ने जम्प टु जम्प कन्सल्टेन्सी शान्तिनगर नयाँबानेश्वरका संचालक गोपाल भन्ने सोमनाथ शिवाकोटीलाई अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । झापा, सतासीधाम – ७ का ४३ वर्षीय शिवाकोटी काठमाडौँ पुरानो बानेश्वर बस्दै आएका थिए । शिवाकोटीले चाइनाको कपडा कम्पनीमा कपडा प्याकिङ गर्ने काममा आकर्षक तलब छ भन्दै अछाम, नन्देगडा–८ बस्ने नवराज साउदबाट ९ लाख ८ हजार र भोजपुर दोभाने–४ का राजु भारती, मोरङ हालीमुडा–६ का अर्जुन गिरी र धादिङ बसेरी–५ का सन्तोष ढकाल समेतबाट १४ लाख ६० हजार र अलपत्र परेका ३ जना पीडित नेपाल आउन लाग्ने हवाई टिकट ३ लाख ५० हजार रुपैयाँसमेत गरी जम्मा २७ लाख १८ हजार रुपैयाँ लिई ३ महिने भिजिट भिसा लगाई चाइना पठाएका थिए । सम्झौताअनुसार काम र वर्क भिसा प्राप्त नहुँदा भिजिट भिसा समाप्त भई चाइना प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो । चाइना प्रहरीले थुनामा राखेपछि पीडितका आफन्तहरु महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए । महाशाखाको विशेष पहलमा २२ दिन पश्चात चाईना प्रहरीले उनीहरुलाई नेपाली दूताबासमा जिम्मा लगाएको थियो । टोलीले शिवाकोटीलाई पुस १२ गते सिनामंगलबाट पक्राउ गरी ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाएको छ । शिवाकोटीले उक्त कन्सल्टेन्सी दर्ता समेत नगरी गैरकानूनी रुपमा विदेश पठाउने कार्य गरेको अनुसन्धानबाट देखिन आएको प्रहरीले जनाएको छ ।

भिजिट भिसा

विशेष