अर्थ कर्पोरेट

उखु उत्पादक किसानबीच लोकप्रिय हुँदै ‘ट्रेन्च’ प्रविधि

उखु उत्पादक किसानबीच लोकप्रिय हुँदै ‘ट्रेन्च’ प्रविधि
पुस - १६ । उखुखेतीका लागि ‘ट्रेन्च’ प्रविधि यहाँ लोकप्रिय हुँदै गएका छन् । ट्रेन्च प्रविधिको प्रयोग गरी रोपिएको उखुबाट उत्पादन र उत्पादकत्व बढी हुन थालेपछि किसानहरु यो प्रविधितर्फ आकर्षित हुन थालेको हो । रेजर हलोको प्रयोग गरी खेतमा नाली बनाएर उखु रोपिने यस प्रविधिबाट परम्परागत रुपमा हुँदै आएको उखुको उत्पादन भन्दा ४० प्रतिशतसम्म बढी उत्पादन लिन सकिने भएकाले किसान यस प्रविधिलाई आत्मसात गर्न थालेको उखु उत्पादक हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतनकुमार राईले बताए। 'परम्परागत प्रविधिको प्रयोग गरी उखु रोप्दा ३० प्रतिशत बोट मात्रै उम्रिने गर्दथे' उनले भने, 'आधुनिक ट्रेन्च प्रविधिबाट रोपिएको उखु ९० प्रतिशतसम्म उम्रिने गर्दछ ।' यस प्रविधिबाट रोपिएको उखुमा रोग कीराको समस्या कम हुनुका साथै चिनीको मात्रा बढी हुने भएकाले चिनी मिलमा यो उखु सहजै बढी मूल्यमा बिक्री हुने गरेको उनले बताए । ट्रेन्च प्रविधिबाट लगाइएको उखुमा ६० प्रतिशत पानीको बचत हुने, उखुमा माटो चढाउन सहज हुने, बाध्न सजिलो हुने र कम ढल्ने हुनाले यो प्रविधि किसानका उपयुक्त रहेको महाकाली सुगर इन्डष्ट्रिजका क्यान म्यानेजर राजेश्वरप्रसाद शाहले बताए । ‘पङ्तिबद्ध रुपमा उखु लगाइने भएकाले बीचको भाग खाली छोडिने जग्गामा अन्तरबालीका रुपमा आलु, लसुन, धनियाँ, तोरी, गहुँ, मटर, राजमा लगाएर किसानले यसवाट अतिरिक्त आम्दानीसमेत लिने सकिन्छ’ उनले भने । विशेषगरी किसानले कात्र्तिके उखुका चाँडै हुर्कने ०२३८, को ०२३९, कोलख ९४१८४, कोसा ०३२३४ लगायतका जात यो प्रविधिवाट लगाउँदै आएका छन् । यसरी रोपिएको उखुको उत्पादन प्रतिहेक्टर सरदर ८० मेट्रिक टन हुने गरेको बताइएको छ । नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको प्राविधिक सहयोग तथा मर्सिकोरको आर्थिक सहयोगमा सञ्चालित एमरेड परियोजना अन्तर्गत शङ्करपुर, देखतभूली, झलारी पिपलाडी, कृष्णपुरलगायत क्षेत्रका किसानले १७३ दशमलब ७५ बिगहा क्षेत्रफलमा ट्रेन्च प्रविधिको प्रयोग गरी उखुखेती गर्दै आएका छन् । जसबाट वर्षेनि १८ हजार ३७४ क्वीन्टल उखु उत्पादन हुने गरेकोे परियोजनाका संयोजक महेश घिमिरेले बताए । उनका अनुसार किसानले उत्पादन गरेको उखु बिक्री गरी यसवर्ष रु ७० लाख ७३ हजार ९९० आम्दानी गरेका छन् । परियोजना अन्तर्गत किसानलाई प्रविधिबारे जानकारी दिनुका साथै बीउ, मलखाद र किटनाशक औषधि उपलव्ध गराइएको छ ।

tranche system

विशेष