चीनले बनायाे अफ्रीकामा महत्वाकांक्षी रेलमार्ग
चीनले केन्यामा अफ्रीकाकै सबैभन्दा महँगो र ठुलाे रेलमार्गको निर्माणकार्य लगभग पुरा गरेको छ । यो रेलमार्गलाई १९६३ मा मुलुक स्वतन्त्र भएपछिकै महत्वाकांक्षी परियोजना मानिएको छ ।
यो रेलमार्ग चीनको राज्य स्वामित्वको चाइना रोड एन्ड ब्रिज कर्पोरेसन (सीआरबीसी) ले निर्माण गरिरहेको छ । मोम्बासा–नैरोवीको चालू अवस्थाको ९० प्रतिशत लगानी द एक्सपोर्ट–इम्पोर्ट बैंक अफ चाइनाले गरेको छ । यो आयोजना अफ्रिका महादेशकै सबैभन्दा ठूलो रेलमार्ग हो । यसको पहिलो खण्डको निर्माण लगभग पूरा जनाएको छ । अफ्रिकी मुलुक केन्यामा संचालित यो योजना १३.८ अर्ब डलरको रहेको छ । यो रेलमार्गले केन्याको भीडभाडलाई कम गर्ने र पर्यटनलाई प्रबद्र्धन गर्ने अपेक्षा गरिएको छ । सुरुमा मोम्बासा र नैरोबी जोड्ने गरी योजना बनाइएको थियो । २०१५ मा आएर यसलाई नैभासासम्म विस्तार गर्ने निर्णय गरिएको हो । नागरिक कामको ७५ प्रतिशत पूरा भइसकेको बताइएको छ । पहिलो मोम्बासा–नैरोवी लाइन २०१७ को जूनमा पूरा हुने परामर्शदातृ फर्म सीपीसीएसले जनाएको छ ।
यो ट्र्याकले दुई सहरबीचको यात्रालाई हालको १२ घण्टाबाट छोट्याएर ४ घण्टामा सीमित पार्ने अपेक्षा गरिएको छ । यात्रु सवारी प्रतिघण्टा १२० किलोमिटरको गतिमा गुड्छ भने कार्गो रेलले वार्षिक २ करोड ५० लाख टन ओसारपसार गने इन्टरनेसनल रेल्वे जर्नलले जनाएको छ । वास्तवमै पूर्वी अफ्रिकी रेल गुरुयोजनाले मोम्बासालाई अन्य प्रमुख अफ्रिकी सहरहरू कम्पाला र दक्षिण अफ्रिकाको जुबालाई जोड्नेछ । ईस्ट अफ्रिका रेल्वे मास्टरप्लानलाई इस्ट अफ्रिकी कम्युनिटीले व्यवस्थामन गर्दै आएको छ । डेलोइटका अनुसार गत वर्ष अफ्रिका महादेशको यातायात निर्माणमा १३१ अर्ब डलरभन्दा बढी खर्च गरिएको थियो । आगामी २०२५ सम्ममा यो खर्च २०० अर्ब डलर पुग्ने र अफ्रिकी विमानस्थल निर्माणमा अर्को ७ अर्ब डलर खर्च हुने अपेक्षा गरिएको छ । चीनले अफ्रिकाका अन्य आयोजनाहरूमा पनि लगानी गरिरहेको छ । यसमा केन्याको लामुको मेगा पोर्ट र इथियोपियाको म्यानुफ्याक्चरिङ क्षेत्र पनि रहेका छन् ।