अपराध सुरक्षा

मेडिकल सञ्चालकलाई धम्क्याउँदै रकम असुल्ने पक्राउ

मेडिकल सञ्चालकलाई धम्क्याउँदै रकम असुल्ने पक्राउ

hatkadi

असार ३ । म्याद गुज्रिएको औषधि बिक्री गरेको भन्दै मेडिकल सञ्चालकलाई धम्क्याउँदै रकम असुलेको आरोपमा झापाको भद्रपुरबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–७ निवासी ५० वर्षीय उपेन्द्र ठाकुर र उनका भाइ ४१ वर्षीय धर्मकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार भद्रपुर नगरपालिका–८ निवासी टीका सापकोटाले सञ्चालन गरेको सृजना मेडिकल हलबाट जेठ २६ गते औषधि किनेको र उक्त औषधि म्याद गुज्रिएको भन्दै ठाकुरद्वयले टीका सापकोटा र उनकी श्रीमतीबाट पटक÷पटक गरी ७० हजार रुपैयाँ लिएका थिए । औषधि भद्रपुर नगरपालिका–६ निवासी जीवन साहले खरिद गरे पनि उनीहरुले उक्त औषधिको खरिदको विषयमा सापकोटालाई दबाबमा पारेर रकम असुलेको प्रहरीले जनाएको छ ।

प्रहरी र पत्रकारलाई मिलाउनुपर्छ भन्दै उनीहरुले सापकोटाबाट सुरुमा ५० हजार लिएको र पछि उनकी श्रीमतीबाट पुन २० हजार रुपैयाँ लिएको प्रहरी नायब उपरीक्षक शर्माले बताए। पक्राउ परेका ठाकुरद्वयलाई बिहीबार सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ । रासस

Aparad Medical

विशेष