तारागाउँ होटलको ७ लाख कित्ता सेयर लिलामीमा
काठमाडौं, असार ५ । नेपाल बैंकले आफ्नो स्वामित्वमा रहेको तारागाउँ रिजेन्सी होटलको ७ लाख कित्ता साधारण सेयर पुनः लिलामीमा राखेको छ । यसअघि बैंकले वैशाख २० गते सूचना जारी गरी लिलामीका लागि बोलपत्र आह्वान गरेकोमा ‘विशेष कारण’ भन्दै रद्द गरेको थियो । अघिल्लो सूचनामा न्यूनतम प्रतिकित्ता २०० रुपैयाँ मूल्य तोकेको बैंकले अहिले १६ रुपैयाँ बढाएको छ, जसअनुसार लगानीकर्ताले २१६ रुपैयाँ प्रतिकित्ताका दरले नघटाई बोलपत्र पेस गर्नुपर्ने छ । बिहीबार तारागाउँको सेयर २३० रुपैयाँ प्रतिकित्ताका दरले कारोबार भएको छ ।
आवेदकले न्यूनतम सय कित्ता वा सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतम ७ लाख कित्तासम्मका लागि नै आवेदन दिन सक्नेछन् । असार २३ गते ३ बजेभित्र आवेदन दिन सक्ने गरी लिलामीमा राखिएको सेयर सोही दिन सवा ३ बजे खोलिनेछ । बैंकले सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । नेपाल बैंकले तारागाउँको सो सेयर बिक्रीबाट १५ करोडभन्दा बढी आम्दानी गर्ने अपेक्षा राखेको छ ।
बैंकले नेपाल इन्स्योरेन्सको १० लाख कित्ता सेयर बिक्री गरेर करिब ५० करोड रुपैयाँ आम्दानी गरिसकेको छ । तारागाउँको प्रतिसेयर आम्दानी १२.३९ पैसा छ भने प्रतिसेयर नेटवर्थ ९८.६४ पैसा छ । कम्पनीको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार १७ जुलाई २०१३ देखि ३१ मार्च २०१४ सम्ममा १८ करोड २३ लाख नाफा गरेको तारागाउँले चालू आवको सोही अवधिमा २८ प्रतिशत वृद्धि गरी २३ करोड ३६ लाख नाफा पु¥याएको छ ।
Taragaun