३६ चिकित्सकलाई काठमाडौं जिल्ला अदालतमा पेश

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोद्वारा नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका ३६ जना चिकित्सकलाई काठमाडौं जिल्ला अदालत बबरमहलमा पेश गरेको छ ।
विभिन्न जिल्लाबाट शुक्रबार पक्राउ परेका ३६ जना चिकित्सकलाई व्यूरोले आज जिल्ला अदालतमा उपस्थित गराएको हो । पक्राउ परेका चिकित्सकलाई केन्द्रीय अनुसन्धान ब्युरोले न्यायिक हिरासतमा राख्न अनुमतिका लागि जिल्ला अदालत काठमाडौंमा पेश गरेको जनाएको छ ।
व्युरोले ‘क्वाक’ नाम दिइएको अपरेसनका क्रममा काठमाडौं लगायत अन्य जिल्लाहरुबाट नक्कली प्रमाणपत्रधारी चिकित्सक पक्राउ परेका थिए । चार महिनाको अनुसन्धानपछि सिआइबीले शुक्रबार काठमाडौ, पोखरा, चितवन, ललितपुर, बीरगञ्ज र विराटनगर लगायतका १० जिल्लाका अस्पतालहरुमा एकसाथ अपरेसन चलाएको थियो ।
पक्राउ परेका चिकित्सकहरुले एमबिबिएस अध्ययनको लागि नक्कली प्रमाणपत्र पेश गरेको अनुसन्धान व्युरोले जनाएको छ । व्युरोका अनुसार पक्राउ पर्ने ३६ जना चिकित्सकमध्ये ३० जना पुरुष र ६ जना महिला रहेका छन् । यसअघि पनि ब्युरोले १९ जना नक्कली डाक्टरलाई पक्राउ गरेको थियो जसमा १८ जना धरौटी बुझाएर रिहा भएका थिए भने १ जना मानसिक विचलन भइ उपचाररत छन् ।
Doctor
Doctor in jail



