नक्कली डाक्टरको बिगबिगी एसपीका भाइदेखि नेताका बुहारीसम्म
असार ६ । प्रहरी र नेपाल मेडिकल काउन्सिलको हालसम्मको अनुसन्धानमा देशभरि करिब दुई हजार नक्कली चिकित्सक कार्यरत रहेको रहस्य खुलेको छ । हालसम्म शैक्षिक प्रमाणपत्र अनुसन्धान गरी करिब एक हजार पाँच सयमध्ये डेढ सयजनाको प्रमाणपत्र नक्कली भएको पुष्टि भइसकेको छ । त्यसमध्ये ५३ जना पक्राउ परिसकेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार र शनिबार गरी ३६ जनालाई पक्राउ गरेको छ । एकैपटक १० वटा जिल्लामा अपरेसन चलाई सिआइबीले नक्कली प्रमाणपत्रधारीलाई पक्राउ गरेको हो । जसमा प्रतिष्ठित चिकित्सकसमेत छन् । उनीहरूलाई ठगी मुद्दामा सिआइबीले कारबाही अघि बढाएको छ । ‘हाम्रो अनुसन्धानमा करिब १० प्रतिशत चिकित्सकको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने छ,’ सिआइबीका निर्देशक डिआइजी नवराज सिलवाल भन्छन्,‘हामीले १७ हजार चिकित्सकको प्रमाणपत्रको आधिकारिकता जाँच गरिरहेका छौँ।’
पक्राउ पर्ने सबैको प्रमाणपत्र विदेशी
पक्राउ परेका सबैले आइएस्सी र एमबिबिएस विदेशमा पढेका हुन् । केहीले बिहारका कलेजहरूमा आइएस्सी पढेको प्रमाणपत्रका आधारमा एमबिबिएस पढेका थिए। कतिपयले त एमबिबिएस पनि उत्तीर्ण नगरेको हुनसक्ने डिआइजी सिलवालको भनाइ छ ।
एसपीका भाइदेखि नेताका बुहारीसम्म
प्रगति पोलिक्लिनिक चितवनमा कार्यरत सुनील आचार्य नेपाल प्रहरीका एसपी डा. सुवास आचार्यका भाइ हुन् । डा. सुवास नेपाल प्रहरीको अस्पतालमा कार्यरत छन् । त्यस्तै जोरपाटीको आम्दा नेपालमा कार्यरत निलिमा खड्का महत नुवाकोट कांग्रेस नेताका बुहारी हुन् । प्रहरी अधिकारीका अनुसार श्रीमान श्रीमतीलाई पनि आफ्ना जीवनसाथीको शैक्षिक प्रमाणपत्र नक्कली छ भन्ने थाहा थिएन । ‘यसको प्रमाणपत्र नक्कली हो भन्ने थाहा भएको भए बिहे नै गर्ने थिइनँ,’ आफ्नो श्रीमती पक्राउ परेपछि उनका श्रीमान् सिआइबीमा पुगेर यस्तो गुनासो गर्दै थिए । पक्राउ परेका ३६ मध्ये ६ जना महिला छन् ।
नया पत्रिका
Cib Nepa Operation Qaak