अर्थ

फलाउन नजान्ने, खान मात्रै जान्ने हामी नेपाली, अन्न आयातको डरलाग्दो तथ्यांक

फलाउन नजान्ने, खान मात्रै जान्ने हामी नेपाली, अन्न आयातको डरलाग्दो तथ्यांक

1-Food-crisis काठमाडौं, असार ६ । गएको दश महिनामा धान, चामल, मकै, गहुंजस्ता अन्न किन्नका लागि ३१ अर्ब रुपैया बिदेसिएको छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको १० महिनामा ३१ अर्ब ६ करोड १३ लाख रुपैयाँको अन्न आयात भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा झन्डै १० प्रतिशत बढी हो ।

गत वर्ष यसै अवधिमा २८ अर्ब ४३ करोड १२ लाख ९५ हजार रुपैयांको मात्र अन्न आयात भएको थियो । अन्नमा सबैभन्दा बढी चामल आयात हुने गरेको छ । अहिले चामलसंगै गहुं, मकै, कोदो, फापर, जुनेलोजस्ता अन्नसमेत आयात हुन थालेका छन् । यस वर्षको १० महिनामा धान र चामल सबैभन्दा बढी आयात भएको छ । यस अवधिमा करिब साढे ४ लाख टन धान–चामल आयात भएको छ । विभागका अनुसार भारतबाट मात्र १८ अर्ब १८ करोड ३ लाख रुपैयाँ बराबरको धान र चामल आयात भएको छ ।

यसैगरी चीन, थाइल्यान्ड, बहराइन, अमेरिका, कोरिया, मलेसिया, जापान, इटाली, सिंगापुरलगायत मुलुकबाट समेत धान र चामल आएको विभागको तथ्यांकमा देखिन्छ । धान–चामलपछि सबैभन्दा धेरै आयात भएको अन्नमा मकै पर्छ । दाना उद्योगको कच्चा पदार्थका रूपमा प्रयोग हुने भएकाले मकैको आयात बढेको व्यवसायीहरू बताउंछन् । चालू आर्थिक वर्षको १० महिनामा ७ अर्ब १५ करोड ९६ लाख रुपैयांको मकै आयात भएको छ । आयात गत वर्ष ५ अर्ब २५ करोड ४० लाख ५३ रुपैयाँको मात्र मकै आयात भएको थियो ।

नेपालमा भारत, चीन, अर्जे्टिना र ब्राजिलबाट मकै आयात भएको छ । यसैगरी गहुंको आयात पनि बढेको छ । गत वर्षको १० महिनामा १ अर्ब ६६ करोड ८० लाख रुपैयाँको गंहु आयात भएकामा चालू आर्थिक वर्षको १० महिनामा भने ४ अर्ब १४ करोड ५७ लाख रुपैयाँको गहुं आयात भयो । भारत, चीन र इटालीबाट गहुँ आयात भएको हो । विप्रेषण आयले गर्दा उपभोगमुखी संस्कृति विकास हुंदा पनि अन्न आयात बढेको हो । कान्तिपूर दैनिक

Food crisis Food Crisis nepal

विशेष