साहित्य आज

अन्ततः उसले चिन्यो

अन्ततः उसले चिन्यो

कथा

[caption id="attachment_14838" align="alignleft" width="217"]दिनमान गुर्मछान  दिनमान गुर्मछान[/caption]

दशैंमा घर जान भनेर ऊ कलंकी पुगेको थियो । भर्खरै भएको मधेस आन्दोलन र नाकाबन्दीले तेलको हाहाकार थियो । त्यसैले कलंकीमा पहिलेझै गाडीको भीडभाड थिएन । मान्छेहरुको मात्र भीड थियो ।  बिहान चार बजे उठेर ऊ यहाँ आइपुगेको । बल्लतल्ल माइक्रो चढेर आइपुग्दा मान्छेहरुको रास नै देख्यो । गाडी कम गुडेको छ भन्ने उसलाई थाहा थियो । यो भीड देखेर ऊ ट्वाल्ल पर्यो । अरुबेला भए एक महिना पहिल्यै टिकट काटिन्थ्यो । यसपालि टिकट नै खुलेन । पूर्व जाने गाडी आइपुग्यो । बल्लतल्ल उसले सिट पायो । धन्न झ्यालकै सिट पाएको रैछ । ऊ त्यहाँ बसेर बाहिर हेर्न थाल्यो । बाहिर दशैंमा घर जानेहरुको घुइँचो थियो । सबैले सिट पाउलान् भन्ने चाहिँ थिएन । ऊ बसेको गाडी पनि बिस्तारै भरिँदै गयो । सिटमा भन्दा बढी मान्छे उभिएका थिए । गुन्द्रुक खादिएझैं मान्छे खादिए । मोबाइलको घण्टी बज्यो । ऊ झस्कियो । खल्तीमा हात पुर्यायो । मोबाइल झिकेर बोल्न थाल्यो, ‘अँ, बल्लबल्ल सिट पाएँ । साला, मधेसीहरुले गर्दा तेल नभएर गाडी नै पाइन्न भन्या । आफ्नै देशको नाका पनि बन्द गरेर बसेका छन् । तिनीहरु देशद्रोही हुन् । यिनीहरुको ठाउँमा सरकारले तेल बाड्नु हुन्न । अनि थाहा पाउँछन् ।’ उसले मोबाइलमा लम्बेतान कुरा गर्यो, ‘त्यही त भन्या, नेपालमा बल्लबल्ल संविधान जारी भएको छ । यी जनजाती र मधेसीहरु भने स्वागत नगरेर । बित्थामा आन्दोलन गरेका छन् । पीडित त हामी बाहुनहरु पनि छौं नि ! यिनीहरुलाई नै आरक्षण कोटा छ । यिनीहरु नै पीडित कसरी ?’ उसले अलि चर्काे आवाजमै बोल्यो,‘ल ल राख् पछि कुरा गरौला !’ फोन राख्नासाथ गाडी गुड्न थाल्यो । उसले आफू छेउमै बसेकोलाई एक नजर लायो । देखेर उसको अनुहार कालोनिलो भयो । उसको छेउमा मधेसी बसेको थियो । अप्ठेरो लाग्यो । तुरुन्तै उसले झ्यालबाहिर नजर फ्याक्यो । ऊसँगै बसेको त्यो मधेसीले उसको कुरा सुनिरहेको थियो । सुनिरहँदा ऊ मुसुमुसु हाँसिरहेको थियो । जब बोल्न छाडेर उसलाई हे¥यो, त्यसबेला ऊ पनि अत्तालियो । अप्ठेरो महसुश भएको थियो । झण्डै कालोनिलो होलाझैं भएथ्यो । गाडी गुड्न थालेपछि पो थाहा पायो, झ्यालमा सिसा थिएन । चिसो हावा भित्रिन थाल्यो । उसले आफू छेउको मधेसीलाई वास्तै नगरी करायो, ‘ओ ! कण्डेक्टर भाइ यहाँ त सिसा नै छैन । चिसो हुने भो !’

‘के गर्ने दाइ ? मधेस आन्दोलनले फुट्यो । गुलेली नै हान्छन् भन्या ! आजलाई सहनुस् !’ कण्डेक्टरको जवाफ थियो । जवाफ सुनेर उसको छेउको मधेसी अमिलियो । स्वास फेर्न कठिन भएझैं भयो । उसले दायाबाया हेर्यो । जताततै पहाडे मात्र देख्यो । अलिपर एउटा मधेसी देख्यो । ऊ अलि ढुक्क भयो । झन् पर दुई जना गफिरहेको देख्दा उसले लामै स्वास फे¥यो । सन्तोषको स्वास । थानकोट नपुग्दै जाममा प¥यो । गाडीका लस्कर रेलका डिब्बाझैं देखिन्थे । डिजल बाड्ने आशमा लागेको लाइन । गाडी कछुवा गतिमा घ्यार्रघुर्र गर्दै अघि बढ्थ्यो । ऊ भने भित्रैदेखि मुरमुरिदै थियो । असिन पसिन हुँदै करायो, ‘साला, नाकाबन्दी गर्नेहरुको कहिल्यै भलो नहोस् ।’ ‘दाइ, अलिकति सर्नुस् न !’ मधेसीले विनम्र भावमा बोल्यो । चिसो पसेकोले ऊ झ्यालभन्दा अलि पर सरेको थियो । ऊ ढेपिएर बसेकोले उसलाई असजिलो भएको थियो । झण्डै थिचेझैं लाग्थ्यो । उसको बोली सुनेर पहिले उसलाई खाउलाझैं गरी हे¥यो । अनि अलिकति सरेकोझैं ग¥यो । वास्तवमा उसको सराईले उसको छेउमा बस्नेलाई सजिलो भने भएको थिएन । अझैं पनि ठाउँ ओगटेकै थियो । मधेसीलाई फेरि बोल्न मन लागेन । ऊ चुप लागेर सहेरै बस्यो । गाडी आफ्नै रफ्तारमा अघि बढ्न थाल्यो । अचानक गाडी रोकियो । ऊ मस्त निदाइरहेको थियो । गाडी रोकिनासाथ उसको निद्रा खलबलियो । आँखा खोल्यो । यो के उसले आफूलाई यस्तो अवस्थामा फेला पार्यो जसको उसले कल्पनासम्म गरेको थिएन । उसको टाउको कतै अडेस लागेको थियो । अरु कहाँ हुँन्थ्यो उहीँ जो उसको छेउमा बसेको थियो । उसैको कुममा उसको टाउको अडेस लागेको थाहा पाउदा ऊ केहीबेर सरमले भिज्यो । तर तत्कालै रिसले चुर भयो । आफैंसँग पनि मुरमुरियो । सबै गाडीबाट बाहिरिए । बल्ल ऊ ओर्लियो । होटलभित्र छि¥यो । खानाको कुपन लिएर अलि परै बस्यो । आफूछेउ बसेको त्यस मधेसीलाई ऊ फिटिक्कै हेर्न चाहिरहेको थिएन । त्यसैले नदेखिने ठाउँमा गएर बसेको थियो । चर्काे घाम लाग्यो । घाम घरिघरि झ्यालमा चियाउन पुग्थ्यो । ऊ आफूछेउ बसेको त्यसलाई नहेरी बसिरहेको थियो । तराईका फाँटहरु देखिन थाले । जतिजति तराईका फाँट देखिन थाले ऊ भित्रको आक्रोश मत्थर हुँदै जानथाल्यो । आफू बसेको सिटमा उसको लागि ठाउँ अघि नै छाडिसकेको थियो । अहिले भने दुवैजना सजिलैसँग बसिरहेका थिए । तराईका सडक एकदम सुनसान देखिन्थे । काठमाडौंबाट जाँदै गरेका गाडी बाहेक कुनै सवारी साधन थिएनन् । ठाउँठाउँका चोकहरुमा पसल सबै बन्द थिए । ती बन्द पसलहरुले तराईको अवस्था झल्काइरहेका थिए । वर्दिवास कटेपछि भने सडक झन् सुनसान थियो । यो शुन्यताले शंकाको तुवालो छायो । जति अघि बढ्थ्यो सडकमा बालिएका टायरका सेलाएका राख देखिन्थे । कतै त भर्खरै निभ्न लागेको टायरको राख थियो । यो देखेर ऊ चुपचाप थियो । मनमा भने ढ्वाङ्ग्रो बज्न थालेको थियो । गाडीको गति पनि त बढिरहेको थियो । ‘आउँदैछु । साँझसम्म पुगिन्छ होला ।’ ऊ मोबाईलमा बोल्यो– ‘तराई त झन् पुरै बन्द रहेछ नि ! के दसैं मान्न पाइन्छ होला ?’ अहिले भने उसको आवाज एकदम मसिनो थियो । न त तराई प्रति आक्रोश नै थियो । उसले मोबाईल खल्तीमा राख्यो । आफूछेउमा बसेकोलाई एक नजर लायो र सोध्यो, ‘तपाई कहाँसम्म हो ?’ यति लामो बाटोमा उनीहरु एकपटक पनि बोलेका थिएनन् । तर यतिबेला भने उसले नरम आवाजमा सोध्यो । उसको प्रश्नले एकछिन मधेसी अलमलियो । जवाफ फर्काउनका लागि घाटी सफा ग¥यो । अनि भन्यो, ‘दाइ, म बिराटनगर जाँदैछु ।’ एकदम सरल र सरस जवाफ दियो । यो जवाफले ऊ छक्क प¥यो । एकदमै शुद्ध नेपाली लवजमा बोलेको थियो । पुरै नेपाली । जसले उसलाई ट्वा बनाइदियो । त्यसपछि उसले केही सोध्ने आँट गर्नै सकेन । काठमाडौंदेखि उसले त्यस पहाडीलाई ध्यान दिइरहेको थियो । कतै देखेझैं लागेको थियो । एकदम पुरानो परिचितझैं महसुस गरेको थियो । तर ठम्याउन भने सकेको थिएन । त्यसैले उसका हरेक कुरा सुनिरहेको थियो । अनि नियालिरहेको थियो । मधेसीलाई कुनैबेला गाली गरिरहँदा उसलाई रिस नउठेको चाहिँ पक्कै होइन । ऊ भित्र पनि आक्रोश जागेको थियो । जति पटक उसले मोबाईलमा गाली ग¥यो । त्यति नै उसले आफ्नो छेउमा बसेकोलाई हेथ्र्याे । अझ आफू बसेको सिटमा पुरै रजाई गरेको उसलाई मन परेको थिएन । तर, प्रतिकार पनि त गर्न सकिरहेको थिएन । उसको मनमा एउटै कुरा खेलिरहेको थियो । कि ऊ कतै परिचित झैं लागिरहेको छ । उसको अनुहार कतै देखेको जस्तो लाग्दै थियो । आवाज सुनेसुने झैं लागिरहेको थियो । यात्राभरी उसको मनमा त्यही कुरा खेलिरहेको थियो । त्यसैले ऊ मौन थियो । चुपचाप थियो । साँझ नपर्दै बिराटनगर पुग्यो । गाडी बसस्टप नजाने भयो । यतै प्रहरी चौकी नजिकै रोकियो । सबै ओर्लिन थाले । दुवै गाडीबाट ओर्लिए । ओर्लिनासाथ उसले देख्यो । पहाडी ठिटोको घाटी पछाडिको खत । त्यो खत देखेपछि ऊ छर्ल¨ भयो । उसका चेतन मस्तिष्कले ठम्यायो । दुवै एकै गाउँका । त्यो पहाडी ठिटो प्रधानपञ्चका नाति, गाविस अध्यक्षको छोरो थियो । दुवै एकै स्कुलमा पढ्थे । एकदिन अध्यक्षको छोराले उसलाई ‘ए धोती’ भनेर जिस्कायो । त्यही निहुँमा उसले अध्यक्षको छोरालाई हातपात ग¥यो । घाटी पछाडि नराम्रो चोट लाग्यो । परिणाम स्वरुप उसले स्कुल छाड्नु पर्यो । त्यसैबेलादेखि ऊ गाउँको स्कुलमा नपढेर सहर पसेको थियो । ऊ काठमाडौं आएको थियो । आफ्नी फुपुको घरमा बसेर उसले पढाई सकेको थियो । त्यसैले यतिका वर्षपछि देख्दा दुवैले एकअर्कालाई चिन्न सकेनन् । अहिले आफूले बनाइदिएको खत देखेर उसले चिन्यो । त्यो त्यही खत थियो, जसले गर्दा उसले स्कुल छाड्नु परेको थियो । अहिले भने ऊ सानाको कुरा सम्झेर रन्थनियो । उसले मुठ्ठी दरो बनाएर आफ्नो हत्केलामा बेस्सरी बजार्यो । उसका कानसम्म पसिनाका धारा बगे । तर, यसबेलासम्म अध्यक्षको छोरो ओझेल परिसकेको थियो ।

Katha Nepali Sahitya

विशेष