अर्थ

पौने पाँच अर्बको हस्तकलाका सामान विदेश निर्यात

पौने पाँच अर्बको हस्तकलाका सामान विदेश निर्यात

साउन - १७। आर्थिक वर्ष २०७२÷७३ मा नेपालमा उत्पादित हस्तकलाका सामान रु चार अर्ब ७६ करोड २४ लाख ६० हजार बराबरको विदेशमा निर्यात भएको छ ।

नेपाल हस्तकला महासङ्घका अनुसार निर्यात भएको हस्तकलाका समानमध्ये सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा रहेको छ । विदेसिएको हस्तकलाका सामानमध्ये अमेरिकामा मात्र कुल निर्यातको ३० प्रतिशत रहेको छ । महासङ्घका अनुसार रु एक अर्ब ३६ करोड ६१ लाख ४० हजार मूल्य बराबरका हस्तकलाका सामान अमेरिकामा निर्यात भएको हो भने सबैभन्दा थोरै रु २५ हजार मूल्य बराबरको मोनाकोमा निर्यात भएको छ ।

महासङ्घका महानिर्देशक डा गोविन्दप्रसाद पोखरेलले अमेरिकामा नेपाली हस्तकलाको धेरै माग भएको कारण अत्यधिक व्यापार भएको बताए । “सबैभन्दा धेरै अमेरिकामा माग रहेको छ,” उनले भने । महासङ्घबाट हाल अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चीन, भारतलगायत ६० भन्दा बढी देशमा हस्तकलाका सामान निर्यात हुँदै आएको छ ।

नेपालमा उत्पादित हस्तकलामध्ये सबैभन्दा धेरै ललितपुरमा हुने गरेको छ । नेपालबाट हाल अल्लो वस्तु, बासजन्य वस्तु, पोतेका सामान, हाड सिङ्गका सामान, सेरामिक सामान, सुर्तीजन्य सामान, स्फटिकजन्य सामान, ढाका, फेल्ट, सीसा, धुप, छाला, धातुजन्य, कपडाजन्य, चित्रकला, कागज र कागजजन्य, रेसाजन्य, चाँदी गरगहना, प्रस्तकला, काष्ठकला र उलनजन्य सामान विदेशमा निर्यात हुँदै आएको छ । आव २०७२/७३ विदेश निर्यात भएको हस्तकलामध्ये धातुजन्य हस्तकला धेरै रहेको छ । जसमा रु एक अर्ब २२ करोड ३२ लाख ८७ हजार बराबरको निर्यात भएको हो ।

गत आवमा रु एक अर्ब नौ करोड १९ लाख ४८ हजार ८४३ बराबरको निर्यात भएको थियो । नेपालमा हस्तकलाका जिल्लागत १४ र वस्तुगत १० सङ्घ रहेका छन् । जिल्लागत सङ्घ बागलुङ, भक्तपुर, दाङ, धनुषा, झापा, पाल्पा, कास्की, ललितपुर, लमजुङ, मकवानपुर, म्याग्दी, रामेछाप, सङ्खुवासभा र भक्तपुरमा रहेका छन् । यस्तै वस्तुगततर्फ धातु, जुत्ता, सेरामिक्स, पश्मिना, कागजलगायतका उद्योग आबद्ध छन् । महासङ्घका अध्यक्ष धर्मराज शाक्यले प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका माला, रुद्राक्षलगायतका हस्तकला विदेशमा अत्यधिक माग हुने गरेको बताए । परस्परागत हस्तकलाभन्दा नयाँ हस्तकलाका सामान विदेशमा बढी माग हुने गरेको छ । परम्परागत हस्तकलाका सामानमा काष्ठकला, प्रस्तरकला, धातुकलालगायत रहेका छन् भने नयाँमा प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका माला रहेका छन् ।

हस्तकलाका सामान निर्यातमा आव २०७१÷७२ को तुलनमामा आव २०७२÷७३ मा रु दुई करोड बराबरको कमी आएको छ । आव २०७१/७२ रु चार अर्ब ७८ करोड ५४ लाख ७६ हजार बराबरको कारोबार भएको थियो । महासङ्घका अध्यक्ष शाक्यले भूकम्प र नाकाबन्दीका कारण गत आवको तुलनामा पछिल्लो आवमा निर्यात घटेको बताए । महासङ्घमा एक हजार ५०० व्यवसायी आबद्ध भए पनि हाल २०० देखि ४०० व्यापारीले मात्र हस्तकलाका सामान नियमित रुपमा निर्यात गर्दे आइरहेका महासङ्घले जनाएको छ । रासस

Bidesh Handmade Things

विशेष