धार्मिक, ऐतिहासिक र सौन्दर्यको त्रिवेणी चन्द्रागिरि
साउन - २६ । काठमाडौंकै सबैभन्दा अग्लो स्थान चन्द्रागिरिको उचाइ २५५१ मिटर रहेको छ । पर्यटकीय दृष्टिले यस पहाडका प्रमुख तीन विशेषता रहेका छन् ।
१. धार्मिक महत्व
देवादिदेव महादेवले आफ्नी प्रिय सतीदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा चन्द्रागिरि पर्वतमा पुग्नुभएको हिमवत खण्डमा उल्लेख छ । चन्द्रागिरिको चुच्चुरोमा महादेव पुग्दा सतीदेवीको भाल अर्थात् निधार पतन भएको र शिवलिङ्ग उत्पत्ति भएको हिमवत खण्डको ९८ र ९९ औं अध्यायमा वर्णन गरिएको छ । भालपतनभएर उत्पत्ति हुनु भएको महादेवलाई भालेश्वर भनी पुकार्न थालिएको धर्मग्रन्थहरुमा उल्लेख गरेको पाइन्छ ।
भालेश्वर महादेवको दर्शन गरेर स्वर्गका सुमुख नामक गन्धर्व र पाटन निवासी विरुपाक्षले पापबाट मुक्ति पाएका कथाहरु हाम्रा धर्म ग्रन्थहरुमा उल्लेख छन् । यसरी पौराणिक कालदेखि नै आफ्ना भक्तको मनोकांक्षा पूरा गर्ने भालेश्वर महादेवको दर्शन गराउनका लागि यहाँ आकर्षक मन्दिर निर्माण गरिएको छ । भालेश्वर महादेवको दर्शन गरेर एउटा मात्र कुराको भाकल गरे पूर्ण हुने जनविश्वास रहि आएको छ ।
२. ऐतिहासिक महत्व
चन्द्रागिरि पहाड ऐतिहासिक रुपले महत्वपूर्ण स्थान हो । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्द्रागिरिबाट नै यो सुन्दर काठमाडौं उपत्यकाको अवलोकन गरेका थिए ।
पृथ्वीनारायण शाह आफ्नो ससुराली मकवानपुरबाट आफ्नो राज्य गोरखा फर्कँदा चन्द्रागिरि हुँदै फर्केको र काठमाडौंको अवलोकनपछि त्यसलाई जित्ने कल्पना गरेको उनका उपदेशहरुमा उल्लेख गरिएको छ । उनको यो यात्रामा साथै रहेका दुई ज्योतिषी भानु अर्ज्याल र कुलानन्द ढकालले त्यति बेलै आफ्ना राजाको ईच्छा पूरा हुने भविष्यवाणी समेत गरेको इतिहासकार प्रा.डा. दिनेशराज पन्तले उल्लेख गरेका छन् ।
पृथ्वीनारायण शाहले यही चुचुराेमा बसेर अाध्यात्मिक साधना गरेपछि काठमाडौं उपत्यकामाथि आक्रमण गरेर विजय प्राप्त गरेको जनविश्वास समेत रहेको छ ।
३. प्राकृतिक सौन्दर्यको अनुपम पहाड
चन्द्रागिरि पहाड प्राकृतिक सौन्दर्यको अनुपम पहाड हो । घना जङ्गलले ढाकिएको चन्द्रागिरि मानव स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण छ । यहाँको चिसो र शान्तवातावरणले मन आनन्दित तुल्याउँछ । क्षणक्षणमै बदलिने यहाँको मौसमले विविधता दिइरहन्छ ।
चन्द्रागिरि चुचुरोबाट सर्वोच्चशिखर सगरमाथाको अवलोकन गर्न सकिन्छ । यहाँबाट पूर्वोत्तर दिशामा सगरमाथा रहेको छ । नेपालका अधिकांश हिमालहरु यहाँबाट हेर्न पाइन्छ । करिब १८० डिग्रीको रेन्जमा यहाँबाट हिमाल श्रृंखलाको अवलोकन गर्न पाइन्छ ।
सूर्योदय र सूर्यास्तको अवलोकनका लागि चन्द्रागिरि पहाड एउटा उपयुक्त गन्तव्यस्थल हो । हिमालयबाट हुने सूर्योदय र पश्चिम पहाडबाट हुने सूर्यास्तको दृश्य यहाँबाट रोमाञ्चक देखिन्छ ।
पूर्वोत्तर दिशामा रहेको काठमाडौं शहरलाई यहाँबाट राम्रोसँग अवलोकन गर्न पाइन्छ । हिमाल, हरियाली र राजधानी शहरको एक साथ अवलोकन गर्न पाइने यो एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य हो ।
chandragiri