साउन - २७ । सात तालको बगैंचा शहरका रुपमा परिचित लेखनाथ नगरपालिका वडा नं ६ स्थित दिपाङ ताललाई ‘हनिमुन लेक’का रुपमा विकास गरिने भएको छ ।
विश्व रामसार सूचीमा सूचीकृत यो ताल प्राकृतिक सौन्दर्य र दृश्यावलोकनका दृष्टिले उत्कृष्ट गन्तव्य मानिन्छ । घुमफिरका लागि नव विवाहित जोडीको छनोटमा पार्ने किसिमले अब यस तालको प्रवर्धन गर्न लागिएको छ ।
दिपाङ ताल संरक्षण समितिका अध्यक्ष रामजी लामिछानेका अनुसार यो तालले कुल ६६८ रोपनी ७ आना ३ पैसा ३ दाम क्षेत्रफल ओगटेको छ र त्यसमा लगभग ३३८ रोपनी ८ आना क्षेत्रफल पानीको भाग रहेको छ ।
लेखनाथ नगपालिकाको चौंथौ ठूलो तालको रुपमा रहेको यसको पूर्वमा रुपा, बेगनास, मैदी ताल र उत्तर पश्चिममा गुँदे, न्युरेनी र खाष्टे ताल रहेका छन् ।
यहाँ २२ प्रजातिका चरा, १६ प्रजातिका माछा, ८ प्रजातिका अन्य घस्रने प्राणी, ६ प्रजातिका कमल लगायतका फूलका साथै नाभो, गुँद जस्ता वनस्पति पाइन्छ ।
पोखराका अन्य तालमा भन्दा यहाँ मानवीय एवम् प्राकृतिक अतिक्रमण कम भएका कारण यसलाई ‘भर्जिन’ तालका रुपमा समेत लिने गरिएको अध्यक्ष लामिछानेको भनाइ छ ।
तालको सौन्दर्य बचाइराख्न समिति एवम् स्थानीयवासी क्रियाशील रहेको बताउँदै उनले भने – “पोखराका अन्य ताल भन्दा यो सुरक्षित छ । वरिपरि वस्ती छैन । चारैतिर सामुदायिक वनबाट घेरिएका कारण पनि यो ताललाई ‘भर्जिन’ मानिएको हो ।”
तालमा पछिल्लो समयमा बढिरहेको पर्यटकको आकर्षणलाई लक्ष्य गरी वरिपरि पदमार्ग निर्माण गरिएको छ ।
दिपाङ ताल संरक्षण समितिको विशेष सक्रियता र राष्ट्रिय ताल संरक्षण विकास समितिको सहयोगमा २९ लाख रुपैयाँको लागतमा आ व २०६६-६७ मा बाँध निर्माण गरिएको थियो ।
साइकल कुदाउन मिल्ने गरी निर्माण गरिएको पदमार्गको दायाँबायाँ विभिन्न जातका एक हजार २०० विरुवा रोपिएका छन् भने समितिले नजिकैको सार्वजनिक जग्गामा वनभोज स्थल समेत बनाएको छ ।
लेखनाथ नगरपालिका कार्यालयको सिफारिसमा भवन तथा सहरी विकास कार्यालयबाट करिब नौ लाख रुपैयाँ र उपभोक्ता समितिको करिब एक लाख रुपैयाँ गरी लगभग १० लाख रुपैयाँको लागतमा दुई वटा ट्रस, खानेपानी, शौचालय लगायतका वनभोजस्थलका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको लामिछानेले जानकारी दिए ।
दिपाङ ताललाई ‘हनिमुन लेक’का रुपमा विकास गर्ने स्थानीयवासी तथा संरक्षण समितिको सोचलाई मूर्तरुप दिन नगरपालिका कार्यालयबाट निरन्तर सहयोग गर्ने वचनबद्धता लेखनाथ नगरपालिकाका कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले प्रष्ट पारे।
कार्यक्रम अनुरुप आगामी सेप्टेम्बर १३ मा रुपा र बेगनास ताल, सेप्टेम्बर १४ मा खास्टे, न्युरेनी, गुँदे, मैदी र दिपाङ तालका साथै १५ र १६ मा फेवातालका सरोकारवालाबीच छलफल राखिने पोखरेलले बताएका छन् ।
प्राकृतिक सुन्दरता बोकेका लेखनाथका दिपाङ सहितका तालको व्यवस्थापन योजना तयार भएसँगै यिनीहरुको दीर्घकालीन संरक्षण र विकासमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ । रासस (तस्बिर उपलब्ध छ)