अपराध सुरक्षा

मालपोत प्रमुखमाथि मानहानि मुद्दा

मालपोत प्रमुखमाथि मानहानि मुद्दा
adalat साउन - २८ । जिल्ला अदालत गोरखाको मानहानि गरेको भन्दै मालपोत कार्यालय गोरखाका प्रमुख मुक्तिनारायण भण्डारीविरुद्ध मानहानि मुद्दा दर्ता भएको छ । मिरकोट–५ की गीताकुमारी हमालले भण्डारीविरुद्ध यही बुधबार मुद्दा दर्ता गर्नुभएको हो । जिल्ला अदालतले दिएको आदेशको अवज्ञा गरेकाले कारबाहीको माग दाबी गर्दै हमालले मुद्दा दर्ता गरेको अदालत स्रोतले जनाएको छ । सो मुद्दाउपर सुनुवाइ गर्दै जिल्ला न्यायाधीश जगतप्रसाद श्रेष्ठले भण्डारीमाथि १५ दिने म्याद जारी गरे । निवेदकको मागदाबीअनुसार आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए स्वयम् उपस्थित भई लिखित जवाफ पेस गर्न आदेश गरिएको अदालतले जनाएको छ । मिरकोट–५ को ३७ रोपनी जग्गाको विषयमा मिरकोट–५ की हमालले सोही ठाउँका मोहन अधिकारीविरुद्ध मुद्दा दिएका थिए। जिल्ला अदालतले गत २०७१ मङ्सिर १७ मा हमालको नाममा सो जग्गा नामसारी गर्न फैसला गरेको थियो । सोही मुद्दाउपर पुनरावेदन अदालतले गत जेठ ९ गते हमालको पक्षमा फैसला गरेको थियो । सोहीअनुसार अन्तिम आदेश पाउन हमालले गत असार २६ गते निवेदन दिएका थिए । अदालतले पनि सोही दिनमा मालपोत कार्यालयलाई आदेश कार्यान्वयन गराउन पत्र पठाएको थियो । तर एक महिनासम्म पनि मालपोत कार्यालयले आलटाल गरेपछि हमालले अदालतलाई मानहानि हालेकाले भण्डारीउपर सजाय माग गर्दै मुद्दा दायर गरेका हुन्। मुद्दामा मालपोत अधिकृत भण्डारीले अनावश्यक हप्कीदप्की गरेको ब्यहोरासमेत उल्लेख गरिएको छ । जिल्ला अदालतको मानहानि गरेको ठहरेमा एक महिना कैद, रु एक हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । रासस

Gorkha

विशेष