कविता–ए ! नारी
२१औं शताब्दिको
ए, नारी
अब तिमीले
युगान्तकारी
पदचापहरु पहिल्याउनु पर्छ
तिम्रो आफ्नो समानताको लागि
एउटा युगान्तकारी
इतिहास बनाउनु पर्छ
नचाहेरै पनि तिमीले
एउटा युद्धको
शंखघोष गर्नैपर्छ
किन कि
जुठोचुलो र घरधन्दा
तिम्रो पेवा होइन ।
घर आगन र करेसा मात्र
तिम्रो भुगोल होइन ।
घाँस दाउरा र मेलापात
तिम्रो दाईजो होइन ।
चार दिवालको संघार भित्र
पिँजडाको सुगा होइन ।
सन्तानप्रतिकोे जिम्मेवारी
तिम्रो मात्र होइन ।
पुरुष मात्र तिम्रो भाग्यको खुशी होइन ।
किन कि !
आधा आकाश ढाक्ने तिमी नारी !
संसारको युग हाक्ने तिमी नारी
हिम्मत र आँट भएकी तिमी नारी !!
ओजश्वी हुन सिक
यो पक्षपाती समाजसँग
तेजश्वी हुन सिक ।
सबै भ्रमहरु चिरेर
तिमी अघि बढ्नु पर्छ ।
जे हुन्छ हुन देऊ
चिन्ता लिन छोड
कुरिती र कुसंस्कारलाई
आजै बाट छोड ।
कहाँ पुगे संसारका ती नारीहरु
विश्व फर्किएर हेर
तिम्रो यो जिन्दगी !
घरधन्दामा नजाओस खेर ।
त्यसैले हे नारी
तिमीले एउटा इतिहास बनाउनै पर्छ .
जहाँ तिम्रो हरेक पाइलाहरुमा
तिम्रो पद्चापहरु नमेटिउन् ।।।
–भावना घिमिरे, विराटनगर