विद्यालय संचालनका लागि फेसबुकबाट १० लाख उठ्यो

भदौ १० ।आफूले पढेको विद्यालयको शैक्षिकस्तर सुधार गर्नका लागि पूर्व विद्यार्थीले फेसबुक म्यासेन्जरबाट सुरु गरेको अभियानमा एक हप्तामा रु १० लाख भन्दा बढी सङ्कलन गरेका छन् । पर्वतको आर्थर डांडाखर्कस्थित पञ्चकोसी उच्चमाविका पूर्व विद्यार्थीले सञ्चालन गरेको अभियानका क्रममा एक हप्तामा नै रु १० लाखभन्दा बढी सङ्कलन भएको हो ।
विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउन र निजी स्रोतमा शिक्षक राख्न पूर्व विद्यार्थी मञ्च गठन गरी फेसबुक म्यासेन्जरबाट सहयोग अभियान सञ्चालन गरिएको छ । अभियानका क्रममा एक हप्ताको बीचमा ६० जनाभन्दा बढी पूर्व विद्यार्थीले मञ्चको संरक्षक सदस्य बन्दै रु १० लाखभन्दा बढी संकलन भएको मञ्चका सल्लाहकार मनोज गुरुङले जानकारी दिए ।
मञ्चले पूर्व विद्यार्थीबाट संरक्षक सदस्य बन्न रु १५ हजार, आजीवन सदस्य बन्न रु १० हजार र साधारण सदस्य बन्न रु ५०० शुल्क तोकेको छ । सदस्य बनेर उठेको रकमबाट निजी स्रोतमा शिक्षक राखी अंग्रेजी माध्यमबाट पठनपाठन गराउने लक्ष्य राखिएको सल्लाहकार गुरुङले बताए । गाउंबाट शिक्षाका लागि विद्यार्थी र अभिभावक बसाइ सराइ गर्दै सहरबजार धाउन थालेपछि गाउंमै गुणस्तरीय शिक्षा दिएर बसाइ सराइ रोक्ने मञ्चको पहिलो लक्ष्य रहेको अध्यक्ष गौतम गुरुङले बताए ।
Parbat