अर्थ

राष्ट्र बैंकले अझै महंगी नियन्त्रण गर्न सकेन

राष्ट्र बैंकले अझै महंगी नियन्त्रण गर्न सकेन
Rasta Bankभदौ १० भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दीका नाममा बढेको महंगी अझै नियन्त्रण भएको छैन । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मासिक प्रतिवेदनमा महंगी नियन्त्रणभन्दा बाहिर गएको देखाएको छ । राष्ट्र बैंकले गत वर्ष ९.९ प्रतिशतले महंगी बढेको छ । जब की अघिल्लो वर्ष जम्मा ७.२ प्रतिशतले मात्रै महंगी बढेको थियो । तर, असार महिनामा भने १०.४ प्रतिशतले महंगी बढेको राष्ट्र बैंकले जनाएको छ । सरकारले गतवर्ष महंगी ८ प्रतिशतभन्दा बढी हुन नदिने लक्ष्य राखेको थियो । तर, भूकम्प, मधेस आन्दोलन र भारतीय नाकाबन्दीले महंगी बढाएको हो । ‘२०७२ बैशाखमा गएको विनाशकारी भूकम्पको अन्तराल प्रभावका साथै समीक्षा वर्षको शुरुका ६ महिनामा तराईमा भएको लामो बन्द हड्ताल र दक्षिणी सीमा (नाकाहरूको अवरोधबाट भएको असहज आपूर्तिको कारण नेपालको मूल्यमा चाप पर्न गएको हो’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ । त्यसैगरी, राष्ट्र बैंकका अनुसार खाद्य तथा पेय पदार्थ समूहको १०.९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको औसत मुल्य वृद्धिदर ९.२ प्रतिशत रहेको छ । जबकी अघिल्लो वर्षमा यी समूहहरुको औसत मूल्य वृद्धिदर क्रमशः ९.६ प्रतिशत र ५.२ प्रतिशत रहेको थियो । त्यस्तै, दलहन तथा गेडागुडीको मूल्य ३२.७ प्रतिशत, घ्यू तथा तेलको मूल्य १९.५ प्रतिशत र मसलाको मूल्य १३.५ प्रतिशतले बढेकोले खाद्य समुहको वाषिर्क औसत मुद्रास्फीतिदर दोहोरो अंकमा पुगेको हो । त्यसैगरी, लत्ता कपडा तथा जुत्ता र घरायसी सामान तथा सेवाको मूल्यमा क्रमशः १४.२ प्रतिशत र १२.७ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । क्षेत्रगत आधारमा विश्लेषण गर्दा गत वर्षमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति काठमाडौं उपत्यकामा ११.६ प्रतिशत, पहाडमा १०.४ प्रतिशत, हिमालमा ८.८ प्रतिशत र तराईमा ८.६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । जबकी अघिल्लो वर्ष यस्तो वृद्धिदर काठमाडौं उपत्यकामा ७.२ प्रतिशत, पहाडमा ७.३ प्रतिशत र तराईमा ७.१ प्रतिशत रहेको थियो ।

mahangi ghatena nepal Bank

विशेष