अर्थ

बंगलादेशसँगको व्यापारघाटा बढ्दै

बंगलादेशसँगको व्यापारघाटा बढ्दै
  loss भदौ - १० । नेपालको अन्तर्राष्ट्रिय व्यापार लामो समयदेखि ऋणात्मक रहँदै आएको छ । बंगलादेशसँगको व्यापारलाई भने अपवादका रूपमा लिने गरिएको थियो । तर, विगत एक दशकदेखि बचतमा रहँदै आएको बंगलादेशसँगको व्यापारमा पनि निराशाका संकेत देखिन थालेका छन् । आर्थिक वर्ष ०७० - ७१ मा बंगलादेशसँगको व्यापार घाटा ६६ करोड ३० लाख रुपियाँ रहेकामा ०७१ - ७२ र ०७२ - ७३ मा क्रमशस् १ अर्ब ३८ करोड रुपियाँ र २ अर्ब २४ करोडले ऋणात्मक रहको थियो । निर्यात व्यापारमा गिरावट देखिए पनि बंगलादेशसँगको समग्र व्यापार भने नेपालको पक्षमै छ । १९ वर्षमा पौने २८ अर्ब रुपियाँ मूल्यको वस्तु निर्यात भएको देखिन्छ । जबकि, पौने १५ अर्ब रुपियाँ मूल्यको वस्तु बंगलादेशबाट आयात भएको छ । नेपाल–बंगलादेशबीच १४ भदौ ०५४ देखि औपचारिक व्यापार सुरु भएको हो । काँकडभिट्टा–फूलबारी–बंगलाबन्ध मार्ग सञ्चालन भएको १९ वर्षमा २७ अर्ब ८४ करोड रुपियाँ मूल्य बराबरको वस्तु निर्यात गरियो । १४ अर्ब ८४ करोड रुपियाँ मूल्य बराबरको वस्तु बंगलादेशबाट आयात भएको देखिन्छ । “सुरुआती केही वर्षबाहेक हरेक वर्ष व्यापार नेपालको पक्षमा थियो,” नेपाल पारवहन गोदाम व्यवस्था कम्पनी लिमिटेड, काँकडभिट्टाका प्रमुख यादवराज सिवाकोटी भन्छन “अहिले पुन सुरुआती समयमा झैँ व्यापार घट्दो छ ।” नेपालबाट मुसुरोका अतिरिक्त डाबर नेपालका उत्पादनहरू मह, हजमोला, च्यावनप्रास, कपालमा लगाउने तेल प्रमुख रूपमा निर्यात हुन्छ । त्यस्तै चिराइतो, मोजितो, रिठ्ठालगायतका जडीबुटीहरू पनि बंगलादेश निर्यात सूचीमा छन् । बंगलादेशबाट कटन वेस्ट, औषधि, फेब्रिक, जुट, चिनी, दूध पाउडर, आलुलगायत वस्तु आयात हुन्छन् । धेरै वस्तुचाहिँ बंगलादेशले पठाउँछ । उल्लेख्य रूपमा नेपाली वस्तु पठाउन अझै सकिएको छैन । बंगलादेशमा नेपाली तरकारीजन्य वस्तु र फलफूलको माग अत्यधिक छ । तर, भारततर्फको क्वारेन्टाइनको झन्झटिलो प्रक्रिया र कृषिजन्य उत्पादन आयातमा बंगलादेश सरकारले लगाएको चर्को भन्सार शुल्कबाट नेपाली उत्पादन प्रत्यक्ष मारमा परेको छ । त्यहाँको सरकारले तरकारी आयातमा ५५ प्रतिशतभन्दा बढी भन्सार शुल्क लगाएको छ । अदुवा, अलैँची, अम्लिसो तथा जडीबुटीहरूको निर्यात सम्भावना उच्च देखिन्छ । यद्यपि, नेपाली व्यवसायीले निर्यात गर्न सकेका छैनन् । व्यवसायी ललित तामाङका अनुसार विगतमा फलफूलजन्य वस्तु बंगलादेश निर्यात प्रयास भएको थियो । तर, भारतीय भन्सारले गर्ने लफडाले गर्दा त्यसले निरन्तरता पाएन । बंगलादेशमा गहुँ, दाल, अदुवा, जडीबुटी, चोकर, भैँसीको छालालगायतको माग अत्यधिक छ । चर्को भन्सारदरका कारण केही वर्षयता अदुवा भने निर्यात हुन सकेको छैन । भारतलगायतका मुलुकसँगको व्यापार घाटा आकासिँदै गएका बेला समेत बंगलादेशको व्यापार भने बचतमा रहँदै आएको थियो । बंगलादेश मात्रै यस्तो मुलुक थियो, जुन देशसँगको व्यापार बर्सनि नेपालको पक्षमा हुन्थ्यो । पछिल्लो दुई वर्षको तथ्यांकले बंगलादेशसँगको व्यापार पनि क्रमश: ओरालो लाग्न थालेको संकेत गर्छ ।

bangladesh business loss nepal

विशेष