सवारी नियम उल्लङ्घन गर्ने २६ ट्याक्सी कारबाहीमा
भदौ - १० । महानगरीय ट्राफिक प्रहरी परिसर ललितपुरले सवारी नियम उल्लङ्घन गर्ने २६ ट्याक्सीलाई कारबाही गरेकोे छ ।
अभियानकै रुपमा नियम उल्लङ्घन गर्ने ट्याक्सीलाई कारबाही गर्न थालिएको परिसरका प्रमुख सीताराम हाथेछुले बताए। परिसरले तीन दिन पहिलेदेखि कारबाही थालेको हो । उनले भने, “हामीले मिटरमा चल्न नमान्ने र छोटो दूरीमा जान नमान्ने सवारीलाई कारबाही गरिरहेका छौँ ।” हाल नगर क्षेत्रमा सवारी नियम उल्लङ्घन गर्ने सवारीलाई कारबाही अघि बढाइएको हो ।
पहिलो चरणमा नगरका अस्पताल क्षेत्रमा अनुगमन र कारबाही भइरहेको प्रहरी निरीक्षक हाथेछुले बताए। उनले भने, “अस्पतालमा डिस्चार्ज भएका बिरामी अरु सवारीमा जान नसक्ने हुँदा पनि ट्याक्सीले अझै बढी ठगी गरिरहेका छन् ।” अल्का, पाटन, बिएन्डबी लगायत अस्पताललाई केन्द्रित गरेर अनुगमन अघि बढाइएको हो । जात्रा लगायत भिडभाड बढी हुने स्थानमा पनि कारबाही भइरहेको छ ।
ट्राफिक प्रहरीले ठूलो कारबाही गर्न नसक्ने हुँदा यातायात व्यवस्था विभाग मार्फत कारबाही अघि बढाइएको उनी बताउँछन्। उनले भने, “यातायात व्यवस्था विभागले पनि कारबाही गर्न पाउने नियम छ । ट्राफिकले जम्मा एक हजारसम्म मात्रै चिट काट्न पाउने नियम छ ।” ट्राफिक प्रहरीले ‘सादा पोसाक’ मा विभिन्न स्थानमा खटिएर अनुगमन गरिरहेको छ । यात्रुबाट ट्राफिक प्रहरीमा आएको गुनासो र ट्राफिकको अनुगमन दुवैका आधारमा कारबाही अघि बढाइएको हो । रासस
Traffic cough to taxi driver
Traffic Police