उद्यमशील महिला, व्यापारिक तथा प्रदर्शनी मेला सम्पन्न
भदाै - ११ । महिलाले उत्पादन गरेका हस्तकलाका उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उद्यमशील महिला, व्यापारिक तथा प्रदर्शनी मेला–२०७३ शनिबार सम्पन्न भएको छ ।
विजनेस एन्ड प्रोफेसनल विमेन सुनाकोठीको आयोजनामा भएको उक्त मेला ‘स्वदेशी उत्पादन प्रयोग गरौँ, आत्मनिर्भर भई स्वाभिमानी बनौँ’ भन्ने नाराका साथ शुक्रबारबाट सुरु भएको थियो । करिब रु २० लाखको कारोबार गर्दै मेला सम्पन्न भयो ।
प्रदर्शनीमा महिलाले उत्पादन गरेका गरगहना, खाद्यान्न, लत्ताकपडा, मैनबत्ती, गलैँचा तथा विभिन्न सामग्रीका ५० भन्दा बढी स्टल राखिएका थिए ।
संस्थाका केन्द्रीय अध्यक्ष अम्बिका श्रेष्ठले महिलालाई आर्थिकरुपमा सशक्त बनाउन हस्तकलाको निकै महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै महिलाले उत्पादन गरेका वस्तुको प्रवद्र्धनका लागि प्रदर्शनीले सहयोग गरेको बताइन् ।
अन्तर्राष्ट्रिय फेडरेसन अफ विजिनेस एन्ड प्रोफेसनल विमेनमा नेपालले सन् १९८५ मा सदस्यता प्राप्त गरेको थियो भने नेपालमै सन् १९७५ मा स्थापित भएर गैरनाफामूलक संस्थाका रुपमा अगाडि बढ्दै आएको छ । सन् १९९१ मा फेडरेसन अफ विजनेस एन्ड प्रोफेसनल विमेन नेपालको रुपमा दर्ता भएको भएको थियो ।
अन्तर्राष्ट्रिय फेडरेसन अफ विजनेस एन्ड प्रोफेसनल विमेनको सदस्य बनेको र सोही फडेरेसनको ८५औँ स्थापना दिवसका सन्दर्भमा प्रदर्शनी आयोजना गरिएको आयोजकले जनाएको छ ।
mahila udhyog mela sampanna