यौन-शिक्षा

संगठित यौनधन्दाले बदनाम बन्दै धरान, प्रहरीको संलग्नतामा हुन्छ यसरी देह व्यापार

संगठित यौनधन्दाले बदनाम बन्दै धरान, प्रहरीको संलग्नतामा हुन्छ यसरी देह व्यापार

sex भदौ १९ । पूर्वको पर्यटकीय गन्तव्य धरान देशका अधिकांश सहरभन्दा सुन्दर, सुगम र शान्त छ । पर्यटकीय केन्द्रका रूपमा विकसित हुँदै गरेको धरान पछिल्लो समय केही व्यवसायीको विकृत धन्दाले बदनाम पनि बन्न थालेको छ । प्रहरी अनुसन्धान अनुसार धरानमा केही होटेल व्यवसायीले युवती राखेर यौनधन्दा सञ्चालन गरेको पाइएको छ ।

‘कन्ट्र्याक्ट’मा युवती राखेर धरान आउने ग्राहकलाई युवती मिलाइदिने गिरोह नै सक्रिय रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढकेन्द्र खतिवडाले गत ४ भदौयता यौन व्यवसाय गर्ने होटेल सञ्चालक र यौनधन्दामा संलग्न युवती गरी ३० जनालाई नियन्त्रणमा लिएर कारबाही थालिएको बताए ।

विगतमा इटहरी क्षेत्रमा यौन व्यवसाय फस्टाएको थियो । तत्कालीन डिएसपी विनोद शर्माको सक्रियतामा यौन कर्ममा युवतीलाई बाध्य बनाउने होटेल सञ्चालक र यौनधन्दामा संलग्न युवतीविरुद्ध मुद्दा चलाएपछि इटहरीमा यस्तो कार्य बन्द भएको थियो । तर, इटहरीमा बन्द भएको यौनधन्दा धरानतिर फस्टाएको पाइएको छ । होटेलमा युवतीलाई सीमित पैसा दिएर धरान तथा भेडेटारका लजमा ग्राहकसँग पठाउने गरेको पाइएको छ । घर नै भाडामा लिएरसमेत यौनधन्दा सञ्चालन गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

कसरी सुरु भयो प्रहरी अप्रेसन

२५ असार २०७३ मा बिआर.४३पी ४२२२२ नम्बरको भारतीय जिप धरान–२२ भेडेटारभन्दा सात सय मिटरतल दुर्घटनामा प¥यो । प्रहरीले दुई भारतीय नागरिक र झापाका दुई युवतीलाई उद्धार गरेर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि भर्ना ग¥यो । ती भारतीय नागरिकले धरानको एक होटेलवालाको सम्पर्कबाट ती युवतीहरू लिएर भेडेटारमा रात बिताई फर्कंदै गर्दा दुर्घटना भएको प्रहरी अनुसन्धानबाट खुल्यो । ती भारतीयको बयानअनुसार नेपालको सीमा क्षेत्र बिहार मध्यपुरालगायत स्थानबाट नियमित भारतीय नागरिक आउने र धरानका होटेलबाट केटी लिए भेडेटार जाने गरेको पाइएको थियो ।

झापा घर बताउने ती युवतीहरूको बयानबाट पनि धरानका केही होटेल र व्यक्तिको सम्पर्कबाट युवती सप्लाई हुने गरेको पाइएपछि इलाका प्रहरी कार्यालय धरानले अप्रेसन सुरु गरेको थियो । प्रहरीकै मिलेमतोमा राति अबेरसम्म होटेल सञ्चालन गर्न दिने, यौनधन्दा सञ्चालन गर्दा पनि प्रहरी प्रशासन रमिते बन्ने, घुमुवा प्रहरीले होटेलबाट मोटो रकम असुल गरी छाडा छाड्ने गरेको गुनासो आएपछि इलाका प्रहरी कार्यालय धरानले घुमुवा प्रहरी फिर्ता बोलाएको थियो । पूर्वयोजना बनाएर जाँदा प्रहरीबाटै लिक हुन सक्ने भएकाले तत्काल योजना बनाउने र प्रहरी परिचालन गरिहाल्ने गरेको इप्रका धरानका डिएसपी ढकेन्द्र खतिवडाले बताए । ‘

कतै लिक नहोस् र हाम्रो अभियान असफल नहोस् भनेर तत्काल योजना बनाएर प्रहरी परिचालन गर्छु,’ डिएसपी खतिवडाले भने, ‘घुमुवाहरूले सूचना ल्याउनेभन्दा पनि अपराधीलाई सूचना दिएर भगाउने सम्भावना बढी देखियो, त्यही भएर घुमुवालाई फिर्ता बोलाएको हँु । सबै सूचना इप्रका धरानको हटलाइन ९८५२०९०७५५ आउने गरेको छ । होटेल सञ्चालक पक्राउ पर्न थालेपछि अरू सूचना आउने क्रम जारी छ ।’ इच्छाविपरीत यौनधन्दा १३ भदौमा पक्राउ परेकामध्ये एक युवतीले आफूलाई जबर्जस्ती यौनधन्दामा लगाएको आरोप लगाएकी छन् । उनले इच्छाविपरीत यौनधन्दामा लगाएपछि प्रतिकारको प्रयास गर्दा ज्यान मार्नेे धम्की आएको बताइन् । उनले भनिन्, ‘भारतीयसँग जबरजस्ती यौनसम्पर्क गर्न लगाएर पैसा लिन्छन्, तर हामीलाई तलबबाहेक केही पनि दिँदैनन् ।’ पक्राउ परेका युवतीमध्ये अधिकांशले धरानमा त्यसरी युवतीलाई अनेक लोभ–लालच देखाएर यौनधन्दामा लगाउने नेपाली र भारतीय गिरोह नै सक्रिय रहेको बताएका छन् । युवतीहरूले त्यसरी यौन व्यापारमा संलग्न दलाल भनेर बताएको व्यक्तिको सूचीमा नाम चलेका केही होटेल सञ्चालकसमेत रहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

टिनएजर्स पनि संलग्न

प्रहरीका अनुसार यौनधन्दामा टिनएजका युवती पनि संलग्न छन् । १५ देखि २०–२२ वर्षका युवती यस्तो कार्यमा संलग्न भएको पाइएको छ । धरानमा होटेलको सम्पर्कमा बस्ने युवती प्रायः धरानबाहिरका रहेको प्रहरीले जनाएको छ ।

रात बिताउन भेडेटार पठाइन्छ

धरानका होटेलबाट युवती मिलाएपछि ग्राहकले भेडेटार लिएर जाने गरेका छन् । ग्राहकले धरानको तुलनामा भेडेटारलाई सुरक्षित मान्छन् । यौनधन्दा सञ्चालन गर्दै आएकाहरू पनि ग्राहकलाई रातभरका लागि भने भेडेटार नै लान सल्लाह दिन्छन् । चेकिङ तथा सुरक्षाका लागि होटेलवालाले स्कुटरबाट जिरोप्वाइन्टसम्म पु¥याएर ग्राहकलाई जिम्मा लगाउने गरेको डिएसपी खतिवडाले बताए ।

कारबाही के हुन्छ ?

होटेल सञ्चालक तथा भाडामा लिएर यौनधन्दा चलाउनेहरूलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अन्तर्गतको कारबाही हुनेछ । यौनधन्दामा संलग्न युवतीलाई भने केही सार्वजनिक अपराध सजाय ऐन २०२६ अन्तर्गत कारबाही हुने डिएसपी खतिवडाले बताए ।

नयाँ पत्रिका

Dharan Sex Racket Dhara

विशेष