अपराध सुरक्षा समाज

दलितको नाममा दलालि गर्ने स्कुलका प्रअ सहित ३ जना विरुद्ध अख्तियारमा उजुरी

दलितको नाममा दलालि गर्ने स्कुलका प्रअ सहित ३ जना विरुद्ध अख्तियारमा उजुरी

sarkari school भदौ २३ । रकम हिनामिना गरेको आरोपमा खोटाङ जिल्लाको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र समितिका दुई सदस्यविरुद्ध अख्तियारमा उजुरी परेको छ ।

जिल्लाको पश्चिमी गाविस दुर्छिम–५ स्थित दुर्छिम उच्च माविका व्यवस्थापन समिति अध्यक्ष रुपेन्द्र राई, प्रधानाध्यापक विष्णुकुमार राई, समितिका सदस्य प्रदीप राई र बाल राईविरुद्ध उजुरी परेको हो । अध्यक्ष, प्रअ र दुईजना सदस्यको मिलोमतोमा दलित छात्रवृत्ति, भवन निर्माण तथा दातृ निकायबाट प्राप्त रु ३५ लाख ५० हजार रकम हिनामिना भएको उजुरीमा उल्लेख छ ।

दलित छात्रवृत्तिका लागि विगतका तीन आर्थिक वर्षमा आएको रु तीन÷तीन लाख गरी जम्मा नौ लाख, विद्यालय भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट प्राप्त २४ लाख, अभिभावकबाट चन्दा सङ्कलन गरिएको रु एक लाख र फर्निचर निर्माणका लागि गाविसबाट छुट्याइएको एक लाख ५० हजार रुपैयाँ रकम उनीहरुले हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय काठमाडौँमा परेको उजुरीमा दाबी गरिएको छ ।

विद्यालयमा आउने अन्य विभिन्न शीर्षकका रकमसमेत उनीहरुले आफू अनुकूल भागबन्डा गरेर खाने गरेको अभिभावकले दिएको उजुरीमा जनाइएको छ । विद्यालयमा भएको आर्थिक हिनामिना तथा उनीहरुले गरेका अनैतिक व्यवहारप्रति तत्काल छानबिन गरेर आरोपितलाई कानुनी कारबाही गर्न विद्यालयका पीडित भनेर उल्लेख गरिएको उजुरीमार्फत माग गरिएको छ । विद्यालयको रकम हिनामिना भएको विषयलाई लिएर पटक–पटक छलफल भएको स्थानीयवासीले बताएका छन् । पटक–पटकको छलफलले कुनै निष्कर्ष ननिकालेपछि अख्तियारमा उजुरी दिइएको छलफलमा सहभागी अभिभावकले बताएका छन् ।

विद्यालयमा अध्ययनरत दलित छात्रछात्राले आफूहरुले पाउँदै आएको छात्रवृत्ति रकम लगातार तीन वर्षदेखि नपाएको गुनासो गरेपछि सो कुरा बाहिर आएको स्थानीयवासीले बताएका छन् । आर्थिक अनियमितताका विषयमा यसअघि सोही विद्यालयमा अध्ययनरत विद्यार्थीले समेत छानबिन गरी कारबाही अगाडि बढाइयोस् भनेर आन्दोलन गरेका थिए । आर्थिक अनियमितताका विषयलाई लिएर पछिल्लो समय विद्यालयमा भइरहेको विवादले आफूहरुको पठनपाठनमा समेत असर गरेको विद्यार्थीले बताएका छन् ।

School in Khotang

विशेष