उद्योगमा आगलागी हुँदा एक करोडको यन्त्र नष्ट
भदौ २५ । वीरगन्ज–पथलैया सडकखण्डको छातापिपरस्थित त्रिवेणी फिड इन्ड्रस्टिजमा शनिबार बिहान भएको आगलागीमा एक करोड मूल्यको धनमाल जलेर नोक्सान भएको छ ।
विद्युत्को तार सर्ट भई भएको आगलागीमा परी उद्योगमा रहेका उपकरण जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बिहान ५ बजेदेखि सुरु भएको आगलागी नियन्त्रण गर्न वीरगन्ज तथा बाराको कलैयाबाट आएका वारुणयन्त्रले प्रहरीको सहयोगमा दुई घन्टापछि नियन्त्रण गरिएको इलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज प्रहरी निरीक्षक गोविन्द कार्कीले जानकारी दिए ।
गढीमाई नगरपालिका–८ मा पर्ने दाना उत्पादन गर्ने उद्योगमा आगलागीबाट भएको नोक्सानी हाल यकिन नभए पनि एक करोडभन्दा बढीको यन्त्र जलेको अनुमान गरिएको छ ।
उद्योगका व्यवस्थापक र प्रहरीको टोली घटनाको छानबिन तथा नोक्सानीको यकिन गर्न लागिपरेको निरीक्षक कार्कीले जानकारी दिए । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।