व्यंग्यः दसैँ आएको सूचना
दसैँ आएको सूचना प्राप्त भएको छ । किनभने, अब सरकारले अवैध बजार नसहने रे ! बढी मोलमा दैनिक उपयोग्य बस्तु बेच्न पनि नदिने रे ! अव सामान नलुकाउनु रे ! जब सरकारले यसो भन्छ , दसैँ आएको सुचना सबैले मान्नुपर्छ । ठाउँठाउँमा छापा मारेको छ । ढकतराजु जाचेको छ । फाट्फुट्ट पक्राउको खबर छ । लाखौ ठग्नेलाई केही सय जरिवाना ठोकेको छ । हल्लाखल्ला खुब गरेको छ । अर्थात दसै आएको सुचना प्राप्त भएको छ ।
बर्सेनि दसैँ आउँछ । कतिबेला आउँछ पत्तै हुन्न । त्यसैले सरकारले यसरी सूचना दिने व्यवस्था गरेको छ । बजार भाउको अवस्था राम्रै भनेको छ । दसैं आएपछि सरकारले यसै गर्छ, अवैध बजार पटक्कै सहन्न भन्छ , बजार भाउ बढ्न दिन्न भन्छ । सरकारले बजार भाउको जिम्मा लिएको छ । तर तपाईको खल्तीको जिम्मा लिन सक्दैन । त्यसैले रुपियाँको भाउ घटेको छ । एकमुठी नोट दिनुस, आधामुठी किनमेल गर्नुको अवस्था भएको छ । किनभने दसैँ आएको छ । – नेपाल साप्ताहिकबाट