बेसनमा प्यारालाइसिस हुने वस्तु मिसाउने उद्योगलाई ८ हजार जरिवाना गरेर उन्मुक्ति
असोज–८ । ललितपुर इमाडोलस्थित एलाइट फुड इन्डस्ट्रिजले बज्र ब्रान्डद्वारा उत्पादित बेसनको पिठोमा खाद्य विभागले खेसरी भट्टाएको थियो । श्रोतका अनुसार खेसरीमा बिओए नामक कम्पाउन्ड हुने र त्यसमा शरीरलाई प्यारालाइसिस गर्न सक्ने थाराइजिम नामक तत्व रहेको हुन्छ । विभागले काठमाडौँ प्रशासनमा हानिकारक तत्व राखेर उत्पादित बेसनमा प्रतिबन्ध लगाएर मुद्धा दायर पनि गर्यो । खाद्य ऐन अनुसार ५ देखि १० हजार जरिवाना वा १ देखि २ वर्षसम्म कैद वा दुवै सजाय माग गर्दै मुद्धा दायर गरिएको थियो ।
तर, ४ जेठ २०७२ मा एलाइट फुड इन्डस्ट्रिजलाई काठमाडौँ प्रशासनले आठ हजार रुपैयाँ मात्रै जरिवाना गराएको छ । यस्तै, बारामा उद्योग रहेको श्रीकृष्ण आयल रिफाइनरी एन्ड भेजिटेबल घी इन्डस्ट्रिजको घिउमा प्रतिग्राम १.२१ एसिड भेटियो । तर घिउमा एसिडको मात्रा बढीमा ०.५ हुनुपर्ने मापदण्ड छ । एसिड बढी भएको घिउ गनाउने र प्याकेटभित्रै टुक्रा–टुक्रा भएर बस्ने र खाँदा हानि गर्ने प्राविधिकहरु बताउँछन् । तर, यो मुद्धामा पनि प्रशासनले ९ जेठ २०७३मा मात्र २ हजारको जरिवाना गरेको छ । –नयाँ पत्रिकाबाट