स्याङ्जाका आचार्य बालकृष्ण भारतको ४८ औँ धनी
असोज–८ । भारतको १०० धनीको सूचीमा पतञ्जली योगपीठका कार्यकारी प्रमुख आचार्य बालकृष्ण पनि परेका छन् । फोब्र्स पत्रिकाले प्रकाशित गरेको १ सय धनीको सूचीमा उनी ४८ औँ स्थानमा परेका छन् ।
यसअघि चीनको हुरुन पत्रिकाले आचार्यलाई भारतको २५ औँ धनी व्यक्तिका रुपमा सुचीकृत गरेको थियो । स्वामी रामदेवको सहयोगीका रुपमा तीन दशकदेखि रहेका बालकृष्णको पतञ्जली योगपीठमा ९७ प्रतिशत सेयर छ । रामदेव पतञ्जली योगपीठका ब्रान्ड एम्बेस्डर हुन् र बालकृष्ण दैनिक प्रशासन हेर्ने गर्छन् । पतञ्जलीले अन्य बहुराष्ट्र कम्पनी भन्दा सस्तो दरमा सामान बिक्री गरेका कारण विशेष गरी भारत र नेपालमा आफ्नो प्रभाव विस्तार गरेको छ ।
पतञ्जली योगपीठको सन् २००६मा स्थापना भएको थियो जसका अहिले ५ हजार क्लिनिक, अस्पताल, विश्वविद्यालय र विभिन्न क्षेत्रमा गरी झन्डै ११ हजार कर्मचारी छन् । उक्त पीठमा आएको नाफा विभिन्न संस्थाहरुलाई दिने गरिएको छ । स्याङ्जाको एक सामान्य परिवारमा जन्मिएका आचार्य बालकृष्ण र स्वामी रामदेव कुनै समय एउटै कलेजमा पढ्ने गर्थे । बालकृष्णका बाबुआमा अझै पनि स्याङ्जाकै गाउँमा सामान्य जीवनयापन गरिरहेका छन् । –कान्तिपुर दैनिकबाट