अर्थ

सीमा क्षेत्रका भारतीय बजारमा नेपालीको भीड

सीमा क्षेत्रका भारतीय बजारमा नेपालीको भीड
असाेज - १० । नजिकिँदै गरेको नेपालीहरुको महान् चाडसँगै सीमा क्षेत्रका भारतीय बजारमा नेपालीको भीड लाग्न थालेको छ। विशेष गरी झापासँग सीमा जोडिएका भारतीय बजार पानीटेङ्की, नक्सलबाडी, गलगलिया, अधिकारीलगायतका बजारमा दसैँको सामग्री खरिद गर्न दैनिक सयौँ नेपालीको भीड लागेको हो। नेपाली बजारमा भन्दा सीमा क्षेत्रका बजारमा चिनी, दाल, जिरा, चना मटर, खानेतेल, लत्ताकपडालगायतका सामग्री सस्तो मूल्यमा पाइने हुँदा किनमेलका लागि नेपाली जाने गरेको मेचीनगर–१, की पवित्रा न्यौपानेले बताइन्। 'हरेक सामान भारतमै सस्तो पाइन्छ, न्यौपानेले भनिन् ,'यहाँ प्रतिकेजी ८० रुपैयाँ मा पाइने चिनी भारतमा प्रतिकेजी भारु ४० मै पाइन्छ। अलि धेरै सामान किन्दा केही पैसा बचत हुने हुँदा दसैँ तिहारका सामग्री खरिद गर्न भारततिर नेपाली जान्छन्।' उनले विशेष गरी चाडबाडलाई मध्यनजर गरेर सरकारले नेपालमै सर्वसुलभ मूल्यमा उपभोक्तालाई चाहिने सामग्री खरिद गर्ने व्यवस्था मिलाइदिने हो भने दैनिक भारतीय बजारमा भित्रिने लाखौँ रुपैयाँ स्वदेशमा रहने बताए। अरु समयको तुलनामा सीमावर्ती भारतीय बजार पानीटेङ्कीमा दसैँको बेला दोब्बर, तेब्बर बढी किनमेलका लागि नेपाली आउने भारतीय व्यापारी रामदेव यादवले उल्लेख गरे। हरेक दिन गाडी, रिक्सा, मोटरसाइकल, निजी गाडीमा यतिबेला भारतीय बजारमा सामान किन्न जानेको घुइँचो लागेको छ । सामान किन्न जानेहरुमा सबैभन्दा बढी सरकारी कर्मचारी रहेको व्यापारी यादवको भनाइ छ। एक महिनाअघिसम्म दैनिक १५ देखि २० हजार रुपैयाँका सामान बिक्री गर्ने यादवले असोज लागेसँगै दैनिक ७० देखि ८० हजार रुपैयाँ बढीको सामान बिक्री गर्दै आएको उनको भनाइ छ। पूर्वी नाका काँकडभिट्टा हुँदै मोरङको उर्लावारी, दमक, झिलझिले, दुधे, शनिश्चरे, बिर्तामोडदेखिका उपभोक्ता दिनदिनै पानीटेङ्कीलगायतका बजार पुग्ने गरेका छन्। रासस

Nepali people in India

विशेष