अपराध सुरक्षा प्रवास

सेटिङमा जथाभावी भिसा

सेटिङमा जथाभावी भिसा

nepali-visa असोज १४ । अध्यागमन विभागबाट विदेशीलाई प्रवेशाज्ञा (भिसा) दिने प्रक्रियामा रेकर्ड नै नराखी आर्थिक चलखेल गरेको पाइएको छ । असोज ६ गते साउदी अरेबियन नागरिक अल्जारिन्द मोहम्मद हुसेनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले उनको गैरपर्यटकीय प्रवेशाज्ञा (नन टुरिस्ट भिसा) शंकास्पद भएको भन्दै प्रस्थान अनुमति पाइसकेपछि पक्राउ गर्दा त्यहाँभित्रको विकृति र आर्थिक चलखेल छताछुल्ल भएको छ ।

अध्यागमनका केही कर्मचारीले हुसेनलाई सेटिङमा भिसा दिएपछि त्यसको रेकर्डसमेत अध्यागमनमा नराखेको पाइएको छ । हुसेनले बयानका क्रममा आफूले भिसा लिँदा ८ सय अमेरिकी डलर तिरेको बताएका छन् । तर भिसाबापतको रकम कर्मचारीले दाखिला गरेका छैनन् ।

हुसेनले लिएको भिसाको अध्यागमनमा कुनै रेर्कडसमेत छैन । रेकर्ड नै नभएका हुसेनलाई विमानस्थल अध्यागमनका एक अधिकृतले विभागकै सेटिङमा प्रस्थान अनुमति दिएका थिए । अध्यागमन पार गरेर विमान चढ्ने क्रममा हुसेनलाई अध्यागमनका अधिकारीले पक्राउ गरेको स्रोतले बताएको छ ।

हुसेनलाई पठाउन विभागका केही कर्मचारीले विमानस्थल अध्यागमनका एक अधिकृतसँग सेटिङ मिलाएको स्रोतले बताएको छ । पैसामा कुरा नमिलेकाले सेटिङमा प्रस्थान अनुमति दिएका अधिकृतले हुसेनलाई पुनः अध्यागमन डेस्कमा बोलाएपछि होहल्ला भएको स्रोतले बताएको छ । अध्यागमनले हुसेनको प्रस्थान अनुमति रद्द गरी विभाग पठाएको छ । हुसेनसँग अध्यागमन कर्मचारीले मिलोमतोमा भिसाबापत आठ सय डलर र रेकर्ड नै नभएको भिसाबाट उडाएबापत थप केही सय डलर बुझेको स्रोतले बतायो ।

हुसेनले लिएको भिसाको रेकर्ड र भिसा शुल्कबापत तिरेको रकमको अध्यागमनसँग हिसाब छैन । एक वर्षको नन टुरिस्ट भिसाबापत ७ सय ४० अमेरिकी डलर तिर्नुपर्छ । हुसेनले लिएको ००१९५५ नम्बरको भिसाको रेकर्ड अध्यागमनमा नदेखिए पनि स्टोर शाखाले उक्त भिसा स्टिकर गैरपर्यटकीय भिसा शाखालाई दिएको पुष्टि भएको छ । नन टुरिस्ट शाखाका कर्मचारीले हुसेनलाई कुन प्रयोजनमा गैरपर्यटकीय भिसा दिएको भन्नेसमेत खुलेको छैन । नेपालमा विवाह वा अन्य कुनै काम गरेर बस्नुपर्ने विदेशीलाई नन टुरिस्ट भिसा दिने व्यवस्था छ ।

अध्यागमनका एक अधिकारीले भने, ‘स्टोर र नन टुरिस्ट भिसा शाखाको मिलोमतो देखिएको छ ।’ विभागका निमित्त महानिर्देशक कृष्णबहादुर कार्कीले हुसेनले लिएको भिसा र उनलाई पठाउन गरेको प्रयत्नबारे अनुसन्धान भइरहेको बताए ।

हुसेनको भिसा स्टिकरमा अनलाइन भिसा आवेदन दिएर भिसा लिएको उल्लेख छ । रेकर्डमा भने उनले अनलाइन निवेदन दिएको देखिँदैन । अनलाइन भिसा आवेदन नदिई अध्यागमन विभागले कसैलाई पनि भिसा दिँदैन ।

अध्यागमनमा हुसेनले लिएको भिसाको रेकर्ड नभएपछि विमानस्थल अध्यागमनले उनलाई पक्राउ गरेको थियो । अध्यागमन विभागको नन टुरिस्ट भिसा शाखाले हचुवाका भरमा पैसा लिएर हुसेनलाई भिसा दिएको स्रोतले बताएको छ । मुद्दा शाखाले अध्यागमनको स्टोर शाखालाई पत्र लेखी हुसेनले लिएको भिसाबारे सोधेको थियो । स्टोरले हुसेनको राहदानीमा रहेको नेपाली भिसा सक्कली भएको पुष्टि गर्दै उक्त भिसा स्टोरबाटै गैरपर्यटकीय भिसा शाखामा पठाएको उत्तर दिएको छ ।

नन टुरिस्ट शाखाले कारण नै नखुलेका हुसेनलाई एक वर्षअघि २०७२ असोज ७ गते भिसा दिएको थियो । एक वर्ष नेपालमा बिताएर हुसेन भिसा सकिनु अघिल्लो दिन गत बिहीबार (असोज ६ गते) साउदी अरेबिया उड्न विमानस्थल पुगेका थिए । नेपालमा बस्दा हुसेन केकस्ता गतिविधमा संलग्न थिए भन्नेबारे समेत अध्यागमन अनभिज्ञ छ ।

हुसेनलाई आर्थिक प्रलोभनमा परेर अध्यागमन विभागका केही वरिष्ठ अधिकृतले जबर्जस्ती पठाउन खोजेपछि अध्यागमनका कर्मचारीबीच विवाद भएको छ । अनुसन्धान गर्नुको सट्टा हुसेनलाई सेटिङमा पठाउन खोज्नु लज्जास्पद भएको अध्यागमनका एक अधिकृतले  बताए ।

अध्यागमन विभागको हिरासतमा रहेका हुसेनलाई पठाउन विभागका केही अधिकृतले नेपालस्थित साउदी अरेबियन दूतावासमा समेत दबाब दिएका थिए । दूतावासका कर्मचारीहरूले समेत विभागमा आएर हुसेनलाई पठाइदिन आग्रह गरेका थिए । दूतावास र अध्यागमनका केही अधिकृतले सेटिङ गर्न खोजे पनि उक्त प्रयत्न असफल भएको छ । हुसेनलाई मुद्दा चलाएर अनुसन्धान गर्नुभन्दा पनि विभागका केही कर्मचारी उन्मुक्ति दिन खोजिरहेका छन् ।

अध्यागमनका अधिकारीबीच हुसेनलाई पठाउने नपठाउने विवाद भएको स्रोतले बताएको छ । निमित्त महानिर्देशक कार्कीले हिरासतमा रहेका व्यक्तिलाई अनुसन्धान नै नगरी पठाउन नहुने भन्दै अडान लिएपछि हुसेन अहिले हिरासतमा छन् । हुसेनको भिसा विभागको रेकर्डमा नदेखिएकाले त्यस्ता प्रवेशाज्ञा भएको व्यक्तिलाई कुनै हालतमा पठाउन नहुने र उनलाई पठाउन खोज्ने व्यक्तिहरूमाथि समेत छानबिन हुनुपर्ने अडान कार्कीले राखेपछि हुसेनको मुद्दामाथि थप अनुसन्धान हुने भएको हो ।

मुद्दा शाखाका अधिकृत र विभागकै एक जिम्मेवार व्यक्तिको संलग्नतामा हुसेनलाई बिनाआधार आर्थिक प्रलोभनमा परेर पठाउन दबाब दिएका थिए । हुसेन २०७२ असार १२ गते नेपाल आएका हुन् । नेपाल आउँदा लिएको भिसाको म्याद सकिएपछि अध्यागमन विभागबाट हुसेनले आर्थिक चलखेलमा गैरपर्यटक भिसा लिएका थिए ।

अन्नपूर्ण

Adhyagamn Kamachari

विशेष