अर्थ

‘नयाँ विमान कम्पनीलाई उडान अनुमति दिन नसक्ने अवस्था’

‘नयाँ विमान कम्पनीलाई उडान अनुमति दिन नसक्ने अवस्था’
पुस १७ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ अभाव रहेको भन्दै नयाँ विमान कम्पनीलाई हवाई सेवाका लागि अनुमति रोक्नसक्ने जनाएको छ । शनिबार राजधानीमा भएको प्राधिकरणको १८औं वार्षिकोत्वमा महानिर्देशक सन्जीव गौतमले विमानस्थलको पार्किङले नधानेको अवस्थामा नयाँ कम्पनीलाई उडान अनुमति दिन नसक्ने अवस्था आएको बताए । उनले त्रिभुवन विमानस्थलमा बिहान ११ बजेदेखि दिउँसो ४ बजे अत्यधिक ट्राफिक हुने गरेको र ४ बजेदेखि साँझ ७ बजेमात्रै कम ट्राफिक रहेको बताए । उनले कम ट्राफिक हुने समयमामात्रै कुनै विमान कम्पनीले हवाई सेवा दिन चाहे त्यो भने दिनसक्ने बताए । पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले नेपालको छवि अन्तर्राष्ट्रिय क्षेत्रमा लैजाने काम एकमात्र विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले गरेको भन्दै त्यसको सुधारमा सबै लाग्नुपर्ने बताए । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले विदेशी हवाई सेवा प्रदायकसँग प्रतिस्पर्धा गर्न र हवाई भाडा सस्तो बनाउन पनि नेपालले हवाई सेवा विस्तार गर्नुपर्नेमा जोड दिए ।

विशेष