अपराध सुरक्षा

राष्ट्रपतिको कार्यालयमा नि बस्ने, आगजनी पनि गर्ने ?

राष्ट्रपतिको कार्यालयमा नि बस्ने, आगजनी पनि गर्ने ?

पदीय हिसावले राष्ट्रपति कानून र संविधानको संरक्षक हुन् । तर, उनै राष्ट्रपतिको नीजि सचिवालयमा रहेकी सुमित्रा थापा सरकारी गाडी आगजनी गर्दै हिडेको समाचार बाहिरिएको छ । शुक्रबार बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्स अगाडि एमालेआबद्ध युवाहरुको समुहले सरकारी गाडी तोडफोड र आगजनी गरेको थियो ।

चौतर्फी आलोचना भएपछि युवा संघले तोडफोड र आगजनीको जिम्मेवारी लिन अस्विकार गरेको थियो । दृश्य बाहिरिएपछि सो घटनामा युवा संघकै नेता संलग्न रहेको र ती मध्ये केही सरकारी कर्मचारी रहेको समेत खुलेको थियो । अरु त अरु राष्ट्रपति भण्डारीको सचिवालय रहेकी सुमित्रा समेत सो घटनामा संलग्न रहेको पाइएको हो ।

मीनभवन निवासी सुमित्राका बुबा बासु थापा भक्तपुर एमालेका उपाध्यक्ष हुन् । राप्रपाबाट एमालेमा प्रवेश गरेका बासु र महेश बस्नेतको सम्बन्ध केही समय प्रगाढ रह्यो । बासुको मीनभवनस्थित घरमै बसेर युवा संघको अध्यक्ष हुँदा महेशले कार्यक्रम र योजना बनाउँथे । सोहीक्रममा सुमित्राले राजनीतिमा चासो लिन थालेकी थिइन् । काभ्रेको जिल्ला विकास समितिमा जागिरे रहेकी सुमित्रा तत्कालिन एमाले उपाध्यक्ष बिद्या भण्डारी राष्ट्रपति निर्वाचित भएसँगै जागिर छाडेर सचिवालयमा गएकी थिइन् ।

शुक्रबार उनले राष्ट्रपतिलाई समेत विवादमा तान्ने गरी गतिविधि गरिन् । आगजनीका लागि उनी राष्ट्रपति कार्यालयको सरकारी गाडी चढेर गएको बताइन्छ । सचिवालयमा रहेकी थापा आगजनीमा संलग्न रहेको समाचार बाहिरिदासमेत शितल निवासले कुनै प्रतिक्रिया दिएको छैन । राष्ट्रपतिका प्रेस सल्लाहकार माधब शर्माले घटनाका बारेमा तत्काल बोल्न असमर्थ रहेको जनाए । उनले नीजि धाराणा भन्दै सो घटनामा सुमित्रा संलग्न रहेको आफुलाई रत्तिभर विस्वास नरहेको बताए । उनले राष्ट्रपति कार्यालयलाई जोडेर लेख्नुभन्दा पहिले सत्य तथ्य एकीन गर्न सुझाए ।

काठमाडौं महानगरीय प्रहरीका एसपी प्रधुम्न कार्कीले घटनामा संलग्न केहीको पहिचान भएको र उनीहरुको खोजी भइरहेको जानकारी दिए । संलग्न व्यक्तिहरुको परिचय दिन भने उनले इन्कार गरे । ‘सबै अहिल्यै भने त दोषीलाई भाग भनेजस्तो हुन्छ । पहिचान भएको छ । छिट्टै कानूनी दायरामा ल्याउने प्रयास जारी छ ।’ कार्कीले नेपाल आजसँग भने ।

सरकारी जागिरेमा रहेका युवा संघका केही कार्यकर्ता, राष्ट्रपतिको सचिवालयमा रहेकी थापासहितको समुहलाई लिएर युवा संघ उपाध्यक्ष रमेश पौडेलले सरकारी गाडीमा आगजनी गरेका थिए ।

घटनाका बारेमा बुझ्न नेपाल आजले थापाको मोबाइलमा पटक पटक फोन गरेपनि उनले उठाइनन् ।

sumitra thapa

विशेष