अर्थ

पुँजीगत खर्च ८० प्रतिशत पुर्याउन निर्देशन

पुँजीगत खर्च ८० प्रतिशत पुर्याउन निर्देशन
पुस - १८ । प्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक वर्षको अन्त्यमा कम्तीमा पनि ८० प्रतिशत पुँजीगत खर्च गर्नेगरी काम गर्न निर्देशन दिएकाछन् । राष्ट्रिय विकास समस्या समाधान समितिको ३८औँ बैठकलाई सम्बोधन गर्दै उनले आव सुरु हुनुभन्दा ४५ दिनअघि बजेट आए पनि पहिलो चौमासिकमा पुँजीगत खर्च पाँच प्रतिशत मात्र हुनु दुःखद भएको बताए। “काठमाडौँ–निजगढ द्रुतमार्ग, बूढीगण्डकी जलविद्युत् आयोजना, पश्चिम सेती र हुलाकी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजनाको काम सन्तोषजनक छैनन्, यी आयोजनामा कार्यक्षमताका आधारमा करार सम्झौता गरी कार्यसम्पादन हेरेर दण्ड र पुरस्कारको व्यवस्था गरिनुपर्छ”– प्रधानमन्त्रीले भने । राष्ट्रिय गौरवका आयोजनाको काम तीव्र गतिमा गर्न र पुँजीगत खर्च बढाउन आफूले अनुगमन सुरु गर्ने बताउँदै उनले मन्त्री एवम् सचिवलाई पनि अनुगमन गर्न निर्देश गरे । विकासनिर्माणका काममा गुणस्तर कायम हुन नसकेको तर्फ सचेत गराउँदै उनले प्राविधिक र स्वास्थ्यका कर्मचारी कम भएको गुनासो सम्बन्धित मन्त्रालयबाट आएकाले केन्द्रभन्दा प्रदेश र स्थानीय तहमा कर्मचारी थप्ने गृहकार्य गर्न निर्देशन दिए । राष्ट्रिय गौरवका आयोजनाको ठोस स्वरुप एक महिनाभित्र बनाएर पेस गर्न निर्देशन दिँदै समितिको अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री दाहालले ती आयोजनाको कामको गुणस्तरका विषयमा प्राविधिक परीक्षण गर्न सम्बन्धित मन्त्री एवम् सचिवलाई अनुरोध गरे । बैठकमा मन्त्रीहरुले मन्त्रालयगत विकास निर्माणमा आइपरेका समस्या प्रस्तुत गरेका थिए । सो अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले आव २०७३/०७४ को प्रथम चौमासिक प्रगति समीक्षा र आइपरेका समस्याका विषयमा जानकारी दिए ।

काठमाडौँ–निजगढ द्रुतमार्ग पुष्पकमल दाहाल ‘प्रचण्ड’

विशेष