कानुन मान्ने हो भने खैनी खाने मन्त्रीलाई यस्तो सजाय हुने रहेछ
पुस १९ । सहरी विकासमन्त्री अर्जुन नरसिंह केसीले सोमबार संसदमा खैनी खाएर फ्याँकेको दृश्य बाहिरिएपछि उनको व्यापाक आलोचना भइरहेको छ । ‘मन्त्री केसीले खैनी होइन इज्जत फालेका हुन्’ भन्दै उनको आलोचना गरिएको छ । सो घटनालाई धेरैले नैतिकता र अनुशासनको कसीमा राखेर टिप्पणी गरेका छन् ।
तर यो विषय नैतिकता र अनुशासनभन्दा पनि पहिले कानुनको दायरामा पर्ने देखिएको छ । सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन २०६८ अनुशार त मन्त्री केसीले सोमबार संसदमा अपराध नै गरेको देखिन्छ ।
ऐनले १२ वटा बुँदामा विभिन्न क्षेत्रलाई सार्वजनिक क्षेत्र मानेको छ, जसअनुसार सरकारी निकाय पनि सार्वजनिक स्थलमा पर्छ । संसद स्वतः सार्वजनिक स्थल हुने भएकोले सो क्षेत्रमा सुर्तीजन्य पदार्थ प्रयोग गर्न मिल्दैन ।
सो ऐनका धारा ४ मा लेखिएको छ,‘ कसैले पनि सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्तीसेवन गर्न पाउने छैन ।’
यदि यो ऐनको कसैले उल्लंघन गर्यो भने के सजाय हुने भन्ने विषय पनि ऐनमै स्पष्ट उल्लेख छ ।
धारा १७ मा लेखिएको छ ‘कसैले यस ऐन विपरीत सार्वजनिक स्थलमा धूम्रपन वा सुर्ती सेवन गरेमा व्यवस्थपकले देहाय बमोजिम सजाय गर्नुपर्नेछः (क) धूम्रपान वा सुर्ती सेवन गर्न तुरुन्त रोक लगाउने र त्यसरी रोक लगाउँद नमानेमा वा पटक पटक धूम्रपान गरेमा निजलाई त्यस्तो सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा एक सय रुपैयाँ जरिबाना वा दुवै सजाय गर्नुपर्ने ।’
मन्त्री केसीले सुर्ती सेवन गरेको धेरैले चाल नै पाएनन् । संसद सचिवालयको फुटेजमा उनको त्यो क्रियाकलाप देखियो । सभामुखले चाहेको भए सुर्ती सेवन गरेको कारण देखाएर उनलाई संसदबाट निकाल्न सक्ने थिइन् । तर मन्त्रीलाई संसदबाट निकाल्ने दुस्साहस कस्ले गरोेस् ।