अपराध सुरक्षा

‘रातो नम्बर’ आतङ्क फैलाउने कलाकार पक्राउ

‘रातो नम्बर’ आतङ्क फैलाउने कलाकार पक्राउ

पुस - २० । सामाजिक सञ्जालमा ‘रातो नम्बर’ बाट फोन आएको भन्दै अफवाह फैलाएको आरोपमा गायिका प्रश्न्ना पाण्डे र गायक दीपक बराईलीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । मोबाइल प्रयोगकर्तालाई रातो नम्बरबाट फोन आउने र त्यसले स्वास्थ्यमा गम्भीर जोखिम हुने भन्दै फेसबुक र ट्वीटरमा प्रचार गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले उनीहरुलाई पक्राउ गरेको हो । गायिका पाण्डेले आफूलाई रातो नम्बरबाट एनसेलको नम्बरमा फोन आएको भन्दै फेसबुकमा ‘स्टाटस’ राखेकी थिइन । जुन स्टाटसको आधारमा विभिन्न अनलाइनमासमेत नकारात्मक समाचार आएको थियो । तर प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा उनको नम्बरमा रातो नम्बरबाट फोन नआएको भेटिएको थियो । सोही क्रममा गायक बराइलीले गुगलबाट एप्स डाउनलोड गरी फोन गर्दा रातो नम्बर देखिने बनाएको तथ्य खुलेपछि ब्युरोले बराइलीलाई पक्राउ गरेको हो । यसैबीच ब्युरोले आज पत्रकार सम्मेलन गरी रातो नम्बरको अफवाहमा नपर्न र यस्तो हल्ला नफैलाउन सबैसँग आग्रह गरेको छ । ब्युरो प्रमुख एव्म प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले रातो नम्बरबाट फोन आउने र उठाउँदा ज्याने जान सक्ने, स्वास्थ्यलाई खराबी हुने, मोबाइल पड्किने भन्ने जस्ता अफवाह फैलाइएको भन्दै त्यस्तो भ्रममा नपर्न सबैमा आग्रह गरे । पत्रकार सम्मेलनमा गायिका पाण्डे र गायक बराइलीले आफूहरुले अन्जानवश गल्ती गरेको स्वीकार गर्दै सजाय भोग्न तयार रहेको बताएका थिए । ब्युरोले भोलि हाजिर हुन आउने गरी बुधबार साँझ उनीहरुलाई रिहा गरेको छ ।

रातो नम्बर

विशेष