अपराध सुरक्षा सामाजिक सञ्जाल

रातो नम्बरको फोन आयो भन्दै अफवाह फैलाउने गायिका पक्राउ

रातो नम्बरको फोन आयो भन्दै अफवाह फैलाउने गायिका पक्राउ

पुस २१ । सामाजिक सञ्जालमा आएका सनसरीपूर्ण विषयहरू वास्तविकता बुझ्दै नबुझी सेयर गर्नुहुन्छ रु यदि त्यस्तो हो भने तपाईं प्रहरी फन्दामा पर्न सक्नुहुन्छ । झुटो सूचना सेयर गरेकै आधारमा गायिका प्राशना पाण्डे र गायक दीपक बराइली पक्राउ परेका छन् । उनीहरूले रातो नम्बरबाट आएको फोन उठाउँदा मृत्यु हुने भन्दै अफवाह फेसबुकमा सेयर गरेका थिए ।

त्यसले सर्वसाधारणमा आतंक फैलाएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसिआइबीले मंगलबार पक्राउ गरेको हो । ‘बुझ्दै नबुझी सेयर गर्दा मेरो गल्ती हुन पुग्यो,’ सिआइबीमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै गायिका प्राशनाले भनिन्, ‘यो विषयको असर यति ठूलो हुन्छ भन्ने मलाई थाहै भएन ।’ गायिका पाण्डेको पोस्ट धेरै सेयर हुन पुग्दा गलत सूचनाले सर्वसाधारण आतंकित भएको सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालले बताए ।

त्यस्तै, गायक बराइलीले पनि रातो नम्बरबाट आएको फोन उठाउँदा मृत्यु हुने पोस्ट सेयर गरेका थिए । आफूले भुलवश पोस्ट सेयर गरेको भन्दै उनले त्यसबाट आफू दुःखी भएको बताए । दुवैजनाले माफी मागेपछि सिआइबीले उनीहरूलाई बुधबार रिहा गरेको छ । केही समययता स्क्रिनमा रातो नम्बरबाट फोन आउँदा उठाए मृत्यु हुने भन्दै गलत सूचना भाइरल भइरहेको छ । विभिन्न स्थानमा रातो नम्बरबाट आएको फोन उठाउँदा मृत्यु भएको भन्दै गलत समाचारसमेत सामाजिक सञ्जालमा पोस्ट भएपछि सिआइबीले अनुसन्धान थालेको हो ।

Red Number

विशेष