अर्थ पर्यटन

खोटाङः मझुवागढीका लागि बयालीस लाख बजेट

खोटाङः मझुवागढीका लागि बयालीस लाख बजेट
पुस - २१ । दिक्तेलको धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीको पर्यटन विकासका लागि रु ४२ लाख बजेट प्राप्त भएको छ । मझुवागढीको पर्यटन प्रवद्र्धनका लागि सहरी विकास मन्त्रालयबाट रु तेह्र लाख, पर्यटन मन्त्रालय नाम्चे शाखा, जल उत्पन्न प्रकोपबाट रु छ लाख तथा पुनःनिर्माण मन्त्रालय, पर्यटन मन्त्रालय र भूसंरक्षण कार्यालय दिक्तेलबाट रु पाँच/पाँच लाख, र पुरातत्व विभागबाट रु तीन लाख बजेट प्राप्त भएको हो । आव २०७२/७३ मा विभिन्न शीर्षकमा रु ५७ लाख ३० हजार रकम उपलब्ध गराएका विभिन्न मन्त्रालयले आव २०७३/७४ का लागि पनि बजेट छुट्याएका छन् । प्राप्त बजेटले समुद्री सतहदेखि करिब दुई हजार मिटर अग्लो गढीमा पानी पुर्याउने, गढीस्थित कालिका भगवती मन्दिरमाथिको चौरमा पोखरी निर्माण, फलैँचा व्यवस्थापन, धारा, घेरबार, बगैँचा निर्माण गरिने झुवा कालिका भगवती संरक्षण विकास समितिका अध्यक्ष पदमप्रसाद आचार्यले जानकारी दिए । आचार्यका अनुसार गणेश मन्दिर निर्माणका काम पूरा गर्ने, मन्दिरको उत्तरतर्फ पर्खाल लगाउने, भगवती मन्दिरको मर्मत गर्ने, गढीको स्वरुप देखिने पूर्वाधार तयार पार्ने, गुफा अगाडि ढुङ्गा छाप्नेलगायतका काम गरिनेछ । विभिन्न मन्त्रालय तथा कार्यालयबाट प्राप्त भएको बजेटबाट तोकिएको काम गर्नका लागि फरक फरक निर्माण उपभोक्ता समितिमार्फत काम भइरहेको आचार्यले बताए । हलेसीमा आएका दर्शनार्थीले मझुवागढीको दर्शन गरेपछि मात्र धार्मिक यात्रा पूर्ण हुने जनविश्वास छ । मझुवागढी ओझेलमा परेको छ । यसको पर्यटकीय पूर्वाधारको विकास भएको छैन । मझुवागढीको विकासका लागि २०७१ सालमा मझुवा कालिका भगवती संरक्षण तथा विकास समिति गठन गरिएको हो ।

खोटाङ मझुवागढी

विशेष