अर्थ कर्पोरेट

बागलुङमा १३ करोड भन्दा बढीको सुन्तला उत्पादन

बागलुङमा १३ करोड भन्दा बढीको सुन्तला उत्पादन
[caption id="attachment_49651" align="alignnone" width="688"] इलामको बरबोटेमा बिक्रीका लागि बगानमा थुपारिएको सुन्तला ।[/caption]
पुस - २३ । बाग्लुङ जिल्लामा यो वर्ष रु तेह्र करोड भन्दा बढीको सुन्तला उत्पादन भएको छ । जिल्लामा गत वर्षको तुलनामा यो वर्ष १० प्रतिशतले उत्पादन बढेको छ । जिल्लाभरी तीन हजार ४०० मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय बागलुङका कृषिप्रसार अधिकृत विप्लब अधिकारीले जानकारी दिए । सरदर रु. ४० प्रति किलोमा बिक्री भएको सुन्तलाबाट किसानले रु १३ करोड ६० लाख आम्दानी गरेको अधिकृत अधिकारीले बताए ।कात्तिक–मङ्सिरमा रु. ३५ देखि ४० मा बिक्री हुने सुन्तलाको मूल्य अहिले बढेर रु. ६० देखि ७० पुगेको छ । कुल उत्पादनमध्ये ७० प्रतिशत जिल्ला बाहिर निकासी र ३० प्रतिशत सुन्तला जिल्लामै खपत हुने गरेको अधिकृत अधिकारीले जानकारी दिए । यसरी बाहिर निकासी भएको दुई हजार ३८० टन सुन्तलाबाट रु नौ करोड ५२ लाख रकम जिल्लामा भित्रिएको छ भने रु चार करोड आठ लाखको सुन्तला जिल्लाभित्रै बिक्री भएको छ । यो वर्ष जिल्लामा पाँच सय ९८ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएको छ । अघिल्लो वर्षसम्म चार सय ९७ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भइरहेको थियो । बगैँंचा, रोग, कीराको व्यवस्थापन, प्रविधि, सामग्रीको प्रयोग, उतपादनशील बोटको वृद्धि, अनुकुल मौसम जस्ता कारणले यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । ‘यो वर्ष मौसम पनि अनुकुल पर्याे, फूल खेल्दा असिना, हावा, हुरी चलेन’ अधिकृत अधिकारीले भने– ‘उत्पादनशील बिरुवा पनि योवर्ष बढे ।’ गत वर्ष चार सय ९७ हेक्टर क्षेत्रफलमा जम्मा दुइृ हजार ९९६ मेट्रिक टन सुन्तला फेलेको थियो । बागलुङमा उत्पादित सुन्तला काठमाडौँ, पोखरा, चितवन, बुटबल, गुल्मीलगायतका ठाउँमा निर्यात हुने गरेको छ । यहाँका किसानले सुन्तला भण्डारणसमेत गरेर पछिसम्म बिक्री गर्ने गरेका छन् । फागुन–चैतमा प्रतिकिलो सुन्तला रु एक सय भन्दा बढीमा बिक्री हुने गरेका छन् । सुन्तला व्यापारी किसानको बगैँचामै पुगेर सुन्तला खरिद गर्ने गरेका छन् । कतिपय व्यापारीले सुन्तलाको बोट नै ‘ठेक्का’ मा लिने गरेको बिहुँ गाविसका अगुवा किसान बालानन्द कँडेलले बताउनुभयो । एकै किसानले सुन्तला बिक्रीबाट लाखाैँ रुपैयाँ आम्दानी गरेका छन् । जिल्लाका दर्जन बढी गाविसलाई जिल्ला कृषि विकास कार्यालयले सुन्तलाको ‘पकेट क्षेत्र’को रुपमा घोषणा गरेको छ । सबैभन्दा बढी बिहुँ गाविसमा सुन्तलाखेती विस्तार भएको छ । उक्त गाविसमा मात्र १२ हजार भन्दा बढी बोटले फल दिइरहेको कृषक बताउँछन् । वर्षमा रु चार करोड बराबरको सुन्तला बिहुँ गाविसमा मात्र उत्पादन हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयले उक्त गाविसलाई ‘सुन्तला गाउँ’को रुपमा घोषणा गर्ने योजना पनि बनाएको छ ।

बागलुङ सुन्तला उत्पादन

विशेष