अर्थ

जलविद्युत् आयोजनाको सेयर अब चाहेजति किन्न पाइने

जलविद्युत् आयोजनाको सेयर अब चाहेजति किन्न पाइने

पुस २६ । जलविद्युत् विकासका लागि आम सर्वसाधारणको बढीभन्दा बढी सहभागिता हुने गरी सरकारले पहिलोपटक ‘नेपालको पानी, जनताको लगानी’ अनलाइन कार्यक्रम घोषणा गरेको छ ।

सरकारले सोमबारबाटै सो कार्यक्रममा जनतालाई आफ्नो सहभागिता जनाउनसमेत आह्वान गरेको छ । सोमबार सो अनलाइनको ऊर्जामन्त्री जनार्दन शर्माले उद्घाटन गरे ।

यसअघि जलविद्युत् आयोजनामा लगानी गर्न चाहने कुनै पनि व्यक्तिले निश्चित बैङ्क तथा वित्तीय संस्थामा लाइनमा बसेर सेयर फाराम भर्नुपर्ने र भरे अनुसारको सेयर कित्ता पर्न नसक्ने सम्भावना पनि हुन्थ्यो तर अब सरकारको यो घोषणासँगै लगानीकर्ताले अनलाइनमार्फत फाराम भरे अनुसारको रकम बराबरको सेयर कित्ता पाउन सक्ने व्यवस्थासमेत गरिएको बताइएको छ ।

मन्त्रालयले तयार पारेको अनलाइन फाराम भरेर पहिलो चरणमा आमसर्वसाधारणले आफ्नो लगानीको प्रतिबद्धता व्यक्त गर्नुपर्ने हुन्छ । पहिलो चरणमा सहभागी इच्छुक व्यक्तिको अध्ययन, मूल्याङ्कन तथा लगानीकर्ताको आवश्यक विवरण रुजु गरी लगानीकर्तालाई कुन जलविद्युत् आयोजनामा लगानी गर्दा राम्रो हुन्छ भन्ने कुराको सिफारिससमेत सरकारले गर्ने बताएको छ। सरकारले सिफारिस गरेका आयोजना मध्येबाट लगानीकर्ताले जलविद्युत् आयोजनाको उत्पादन क्षमता, निर्माण अवधि, लागत तथा सम्भावित प्रतिफल हेरेर आफूले लगानी गर्ने आयोजनाको छनोट गर्न सक्नेछन् ।

अनलाइनमा आएको प्रतिबद्धताले आमसर्वसाधारणबाट कति रकम सङ्कलन हुनसक्छ र त्यो सङ्कलित रकमले कुन आयोजना बनाउन सकिन्छ भन्ने अध्ययन र विश्लेषण गर्न सरकारलाई सहज हुने कुरा ऊर्जामन्त्री शर्माले बताए । उनले भने, ‘युरोप, अमेरिका, कोरिया, अरब तथा खाडी मुलुकमा काम गर्ने नेपालीले विदेशबाटै अब लगानीका लागि फाराम अनलाइनमार्फत भर्न सक्नेछन् । देशभित्रका कुनै पनि सर्वसाधारणले अब सेयरका लागि लाइनमा बस्नु पर्नेछैन । यसले राष्ट्रिय महत्वका जलविद्युत् आयोजना निर्माण गर्न सहज हुन्छ ।’

मन्त्रालयका अनुसार सो सङ्कलित रकमलाई दूधकोसी, उत्तर गङ्गा, माथिल्लो अरुण, नौमुरे, पश्चिम सेती लगायतका आकर्षक जलविद्युत् आयोजनामा लगानी गरिनेछ ।

मन्त्रालयले तयार पारेको अनलाइन फाराम भर्ने कामको सुरुआतीले सेयर लगानीमा बढीभन्दा बढी सर्वसाधारणको सहभागिता हुने अपेक्षा लिइएको छ ।

ऊर्जा सचिव अनुपकुमार उपाध्यायले भने, ‘यसभन्दा अघि सेयरमा लगानी सहरमा बस्ने केही सीमित व्यक्तिको हातमा मात्र थियो, अब यसले ग्रामीण क्षेत्रका आम सर्वसाधारणलाई पनि आकर्षित गर्नेछ र ग्रामीण भेगको ससानो बचत पनि लगानीमा परिणत हुने सम्भावना देखिएको छ ।’

मन्त्रालयले निर्माण गरेको अनलाइनमा प्रतिबद्धता फाराम भर्नेबित्तिकै लगानीकर्ताले रकम जम्मा गर्नु पर्दैन । मन्त्रालयले आयोजनाबारे जानकारी दिएपछि आफूलाई लगानी गर्न मन लागेको आयोजनामा प्रतिबद्धता अनुसारको रकम लगानी गर्नुपर्ने हुन्छ ।

गोरखापत्र

Bikuli

विशेष