गोकर्णेश्वरको बजेट २१ करोड, भूकम्पपीडितले नक्सापास गर्दा ५० प्रतिशत छुट पाउने
पुस - २९ । गोकर्णेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि रु २० करोड ७८ लाख २२ हजारको बजेट सार्वजनिक गरेको छ ।
नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न शुक्रबार जोरपाटीमा आयोजित कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रकुमारी थपलियाले आन्तरिक आम्दानी रु १३ करोड ४३ लाख ५० हजार र बाह्य अनुदान रु सात करोड ३४ लाख ७२ हजारसहितको बजेट सार्वजनिक गरिन् ।
नगरपालिकाभित्रका भूकम्पपीडितले एक हजार १०० स्क्वायर फिटसम्मको घर निर्माण गर्न नक्सापासमा ५० प्रतिशत र सो भन्दा माथिको नक्सापास गर्न चाहेमा २५ प्रतिशत छुट दिइने कार्यकारी अधिकृत थपलियाले बताए । उक्त अवसरमा नगरपालिकामा रहेको पशुसेवा कार्यालयलाई ल्याबसहित आधुनिक सेवा दिनसक्ने गरी विकास गर्न लागिएको जानकारी गराइयो ।
ल्याबसहितको कार्यालय बनेपछि पशुको रोग परीक्षणका लागि किसानले त्रिपुरेश्वर धाउनुपर्दैन । नगरपालिकालाई स्वच्छ सफा राख्न ‘सफा स्वच्छ घर आँगन मेरो परिचय’ नामक अभियान नगरव्यापी रुपमा सञ्चालन गरिने भएको छ । हाल उपत्यकामा सबैभन्दा बढी पानी वितरण भइरहेको बागमती नदीको उद्गमस्थल शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रको संरक्षण गर्ने कार्यक्रम पनि नगरपालिकाको छ । पानी शुद्धीकरण अभियान चालु आवबाटै सुरु गर्न लागिएको छ । यसका लागि रु १३ लाख बजेट छुट्याइएको छ ।
काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर गोकर्णेश्वर नगरक्षेत्रबाट उपत्यकाका प्रमुखस्थलमा यातायात सञ्चालनका लागि रु ३५ लाख बजेट विनियोजन गरिएको छ । ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापनाको गृहकार्य पनि नगरपालिकाले सुरु गर्ने भएको छ । ८० वर्षमाथिका नागरिकलाई सो केन्द्रमा दिउँसो स्याहार सुसार गरेर राख्ने योजना नगरपालिकाले अघि सारेको छ ।
नगरपालिकाभित्रका विद्यालयबाट उत्कृष्ट अङ्क ल्याई विद्यालय तह उत्तीर्ण गर्ने छजना छात्रछात्रालाई रु २५ हजारका दरले छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम छ । नगरपालिका क्षेत्रमा खेलमैदान र कभर्ड हल निर्माणका लागि रु एक करोड र असहाय बालबालिकाको कल्याणका लागि रु १० लाख बजेटको व्यवस्था गरिएको छ ।
सरकारले निर्माण गरेको बागमती कोरिडोरका माध्यमबाट पशुपति–बौद्धनाथ–गोकर्णेश्वर–उत्तरगयाहुँदै सुन्दरीजलस्थित सुन्दरीमाइको मन्दिरसम्म धार्मिक पर्यटकीय मार्ग निर्माण गरी धार्मिक पर्यटन प्रवद्र्धन गरिने भएको छ । सुन्दरीजल र तारेभीरलाई नयाँ पर्यटकीय गन्तव्य बनाउन प्रारम्भिक अध्ययन गरिने नगरपालिकाले जनाएको छ ।
नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरीयता बढाउन ‘सामुदायिक विद्यालय भौतिक तथा शैक्षिक सुधार कार्यक्रम’ अघि सारिएको छ । नगरमा एउटा प्राविधिक शिक्षालयको स्थापनाको सम्भाव्यता अध्ययनको गृहकार्य पनि गरिने कार्यक्रम रहेको राजनीतिक संयन्त्रका सदस्य श्रीकृष्ण ज्योतिले बताए।
कार्यक्रममा सांसदद्वय रामेश्वर फुयाँल र अम्बिका बस्नेतले बजेट, नीति तथा कार्यक्रम घोषणामा मात्र सीमित नभई यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।
गोकर्णेश्वर
नगरपालिका
बजेट