अपराध सुरक्षा अर्थ

सुन तस्करीमा दिल्ली–काठमाडौं ‘कनेक्सन’

सुन तस्करीमा दिल्ली–काठमाडौं ‘कनेक्सन’

माघ ३ । दुबईबाट पुस २१ मा आएको ३३ किलो पाँच सय ७७ ग्राम ४० मिलिग्राम सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास भएपछि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले बरामद गर्‍यो ।

त्यो सुन कसको थियो र कहाँ लैजान आँटिएको थियो भन्ने पहेली नसुल्झिएपछि धेरैका निम्ती यो घटना नयाँ रहेन । तर त्यही दिन भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई लैजान लागिएको एक करोड भारतीय रुपैयाँ बराबरको साउदी मुद्रा रियाल र युएई मुद्रा दिराम बरामद भएको थियो ।

उच्च सुरक्षा रहेको विमानस्थलको टर्मिनल ३ को शौचालयमा नगद रहेको ब्याग साट्न लागेका बेला अवैध विदेशी मुद्रासहित दुईजना पक्राउ परेका थिए ।

भारतीय संचारमाध्यमले नेपालमा बरामद भएको अवैध सुनको आयात र भारतबाट जान लागेको अवैध मुद्राको गन्तव्य एकै ठाउँ रहेको भन्दै यसको ‘कनेक्सन’ खोज्ने प्रयास थालेका छन् । यी दुई घटनाको अन्त्यले सुन तस्करीको अन्तर्राष्ट्रिय आयाम बुझ्ने विश्वास लिइएको छ ।

केन्द्रिय अनुसन्धान ब्युरोका अनुसन्धान अधिकारीहरु पनि यसबारे जानकार देखिन्छन् । तर भारतीय संचार माध्यमले जोडेजस्तै यी दुई घटनाको ‘कनेक्सन’ छ कि छैन भनेर अनुसन्धान भने नथालेको उनीहरू बताउँछन् ।

इन्डिया टिभीले अवैध सुन दुबईबाट काठमाडौं आउनु र भारतबाट अवैध तरिकाले विदेशी मुद्रा दुबई पठाइनु बीच सम्बन्ध रहेको समाचार सामाग्री प्रशारण गरेको छ । नेपाल भित्रिएको अवैध सुन खुला सीमा नाकाको फाइदा उठाउँदै भारत नै पठाउन खोजिएको उक्त समाचारको दाबी छ । कान्तिपुर

gold

विशेष