अपराध सुरक्षा अर्थ

दैनिक २५ किलो सुन तस्करीबाट आउँछ, सबैभन्दा फाइदा हुने सुन तस्करीबाटै

दैनिक २५ किलो सुन तस्करीबाट आउँछ, सबैभन्दा फाइदा हुने सुन तस्करीबाटै

माघ ३ । बजारमा मागअनुसार आपूर्ति नहुँदा सुनको अवैध कारोबार मौलाएको छ । यसरी सुन तस्करी गरी कारोबार गर्नेले दैनिक डेढ करोड रुपैयाँ अतिरिक्त कमाउँदै आएका छन् ।

सुनचाँदी व्यवसायीका अनुसार मुलुकभरका लागि सुनको माग दैनिक ४० किलो छ । सरकारले तोकेको वैधानिक आपूर्ति १५ किलो मात्र भएकाले दैनिक करिब २५ किलो सुन कालोबजारबाट किन्नुपर्छ । यही २५ किलो सुन कालोबजारमार्फत बेच्दा दैनिक डेढ करोड रुपैयाँ नाफा हुँदै आएको हो ।

‘सुन अभाव चर्केकाले कालोबजारमा समेत यसको भाउ तोलाको ३ हजार रुपैयाँले बढेको छ’

व्यवसायीका अनुसार अभाव सिर्जना गरी अहिले कालोबजारमा प्रतितोला ३ हजार रुपैयाँभन्दा बढी मूल्य राखेर सुनको कारोबार भइरहेको छ । अवैध आयात गर्नेले सरकारले तोकेको प्रतिदस ग्राम सुनको भन्सार ४ हजार २ सय रुपैयाँसमेत छली गर्ने भएकाले उनीहरुलाई प्रतितोला ७ हजार २ सय रुपैयाँ नाफा हुन्छ ।

एक किलो सुन बेच्दा ७ लाख रुपैयाँ अतिरिक्त नाफा हुने भएकै कारण अहिले सुनको अवैध कारोबार फस्टाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बजारमा सुन अभाव चर्केकाले कालोबजारमा यसको भाउ ३ हजार रुपैयाँले बढेको जानकारी दिए ।

‘१५ किलो सरकारी आपूर्तिले बजार माग धान्न नसकेपछि व्यवसायी कालोबजारबाट सुन किन्न बाध्य छन्,’ शाक्यले आइतबार  भने, ‘अहिले विवाहको मौसम सुरु भएकाले दैनिक माग ४० किलोसम्म पुगेको छ ।’

उनका अनुसार नेपाली बजारमा दैनिक २५ किलोभन्दा बढी सुन कालोबजारले धानेको छ । भन्सार छलेर एक किलो सुन ल्याई कालोबजारमा बेच्दा अहिले व्यवसायीलाई ७ लाख रुपैयाँभन्दा बढी नाफा हुने गरेको उनले जनाए । सुन कारोबारमा संलग्न व्यवसायीका अनुसार अहिलेको खेल प्रतिकिलो ७ लाख रुपैयाँ अतिरिक्त नाफाकै हो ।

बेलाबेला सुनको अवैध कारोबार हुने गरेपछि सरकारले सुन आयातका लागि बैंकलाई मात्र इजाजत दिने व्यवस्था गरेको छ । अहिले वैधानिक रुपमा कुनै पनि व्यापारीले सुन आयात गर्न पाउँदैनन् ।

गत वर्षसम्म विदेशबाट आउने व्यक्तिले ५० ग्रामसम्म सुन ल्याउँदा भन्सार छुट पाउने व्यवस्था रहेकामा सरकारले चालु आवदेखि यस्तो व्यवस्था हटाएको छ । अहिले ५ तोलासम्मका गहना मात्र ल्याउन पाउने कानुनी व्यवस्था छ । शाक्यका अनुसार नेपालमा अवैध रुपबाट धेरैजसो सुन उत्तरी छिमेकी चीनबाट भित्रने गरेको छ । पहिले खासा–तातोपानी मार्ग भएर बढी सुन आउने गरेकामा अहिले केरुङ–रसुवा मार्ग तस्करीमा बढी प्रयोग भइरहेको उनले बताए ।

<पछिल्लो महिनादिनभित्र प्रहरीले करिब ३० किलो सुन उत्तरी नाकाबाट ल्याउँदै गरेको अवस्थामा बरामद भएको छ । व्यवसायीका अनुसार चीनबाट आउने सुनको भुक्तानी हुण्डी वा सोझै नगद रुपमा अमेरिकी डलर र अन्य मुद्रामा गरिँदै आएको छ ।>

पूर्वअध्यक्ष शाक्यले पछिल्लो समय भारतमा भएको नोटबन्दीको घटनापछि यहाँबाट सुन गइरहेको आशंका व्यक्त गरे । उनका अनुसार भारतमा सुनको माग वार्षिक १ हजार २ सय टन छ । वैधानिक आपूर्ति ४ सय टनमा झारेकाले त्यहाँ पनि मागअनुसार आपूर्ति छैन । ‘भारतीय बजारको माग पूर्ति गर्न पनि यहाँबाट सुन गइरहेको अनुमान गर्न सकिन्छ,’ शाक्यले भने, ‘नेपालमा अभाव हुँदा भारतबाट आउने र त्यहाँ अभाव हुँदा नेपालबाट जाने प्रचलन धेरै पुरानो हो ।’

–नागरिक दैनिकबाट

विशेष